Breaking News

चितवनको इच्छाकामनामा असिनाले तरकारी र मकै बाली नष्ट

Banner

चितवन, जेठ १२-

चितवनको इच्छाकामना गाउँपालिका–२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ ।

बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो ।

बेच्ने बेला भएको तरकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताए।

एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिनापानीले नष्ट गरिदिएको गुनासो गरे।

उनले भने, ‘हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी नै थियो, सबै नष्ट भयो, बेच्ने बेला भएको काँक्रो, बोडी, सिमी र खुर्सानी गरी एक लाख ५० हजार रुपैयाँ बढी मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ ।’ कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान चिन्तित बनेका छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै अनिकाल लाग्ने उनले बताए । प्रजाले भने, ‘राम्रोसँग मकै खेती हुँदा छ महिनासम्म खान पुग्थ्यो तर यस पटक चाँडै अनिकाल लाग्ने भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ ।’

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसनाले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पु¥यायो भन्ने एकीन तथ्याङ्क आइनसकेको बताए । अहिले कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको उनको भनाइ थियो ।

शाखाप्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि किसानले तरकारी बालीको बिमा गर्न रुचि नदेखाउँदा समस्या भएको बताए । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हुँदा बिमा गर्न किसान र बीमा कम्पनीले नै चासो नदेखाएको उनले जानकारी दिए ।

शाखाप्रमुख घिमिरेले भने, ‘हामीले अभियान नै चलायौँ, गत वर्ष गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको थियो, बिमा गर्ने भनिएका सम्बन्धित बिमा कम्पनी नै आएनन्, तरकारी बालीको बिमा गर्न पशुमा जस्तो सजिलो छैन, त्यस कारणले किसान र बीमा कम्पनीले चासो नदेखाएका हुन ।’ गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>