Breaking News

भरतपुरका उपमेयर अधिकारीको राजनीतिक यात्राः गाविसको वडा अध्यक्षदेखि महानगरको उपमेयरसम्म

Banner

चितवन, जेठ १०-

भरतपुर महानगरपालिकाको उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् ।

अधिकारीले राप्रपा र एमालेको साझा उपमेयरकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । उपमेयरमा कांग्रेसका दुई दर्जन बढी आकांक्षी हुँदाहुँदै अधिकारीले उपमेयरको उम्मेदवार बन्ने अवसर प्राप्त गरेका थिए । साबिक पार्वतीपुर गाविसको वडा अध्यक्ष बनेर जनप्रतिनिधिको यात्रा सुरु गरेका अधिकारीले झण्डै दुई दशक बढी समयपछि भरतपुर महानगरको उपमेयर बन्न सफल भएका छन् । राजनीतिकरुपमा कांग्रेसको प्रभाव बढी भएकोले पनि भरतपुर महानगरमा उनको भूमिका महत्वपूर्ण हुने धेरैको विश्वास रहेको छ । उनले पार्टी र महानगरको बीच राम्रो समन्वय राख्ने धेरैको अपेक्षा छ ।

अधिकारी उपमेयर मात्र नभइ सामाजिक र सहयोगी अभियन्ताको रुपमा पनि चिनिँदै आएका छन् । विसं २०२४ साल जेठ १ गते बुवा हर्कबहादुर अधिकारी र आमा दुर्गा कुमारी अधिकारीको कोखबाट साबिक पार्वतीपुर गाविस ( हाल भरतपुर २१) मा जन्मेका अधिकारीको भरतपुर माहानगरमा छुट्टै पहिचान छ । आफ्नो वडा मात्र नभई सिंगो भरतपुर माहानगरकै छवि उच्च बनाउने काममा अहोरात्र खट्नुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ । पश्चिम चितवनको गाउँमा जन्मिएर त्यहीको माटोबाट राजनीतिक यात्रा सुरु गरेकोले पनि अधिकारीले चितवनको परिवेशलाई राम्रोसँग बुझेका छन् । उनले पार्वतीपुर क्षेत्रलाई कहिल्यै पनि छाडेनन् । सधै नागरिकको सुखदुःखमा साथ दिइरहे । सामाजिक काम गर्दा केही आरोप र अभियोग लागे पनि विकासको काममा उनी निडर स्वभावका छन् ।

२०३८ सालबाट राजनीतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा सहभागी भएर नेतृत्व गरेका थिए । २०४६ सालको जन आन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी पार्टीका सबै कार्यक्रमहरुमा अग्रपक्तिमा रहेर नेतृत्व गर्दै आइरहेका छन् । २०६२÷६३ को आन्दोलनको नेतृत्व गरेर समाजमा सबैको विश्वास जितेका थिए । नेपाली कांग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२ औ महाधिवेशनमा क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रामा आफूलाई अब्बल साबित गर्न अधिकारी सफल भए । पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सदस्य भएका अधिकारी १४ औ महाधिवेशनमा आएर भरतपुर माहानगरको सभापति जस्तो गरिमामय पदमा निर्वाचित भएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा साबिक पार्वतीपुर गाविसको वडा न ७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनको भरतपुर २१ को वडा अध्यक्ष हुँदै महानगरको दलीय नेताको रुपमा रही विविध कार्य सम्पादन गरिसकेका छन् अधिकारीले । उनले राजनीति शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

पार्वतीपुर खानेपानी उपभोक्ता समितिको वर्तमान अध्यक्ष, अन्नपूर्ण कलेजको संस्थापक सदस्य, अन्नपूर्ण माविको व्यवस्थापन समितिको सदस्य, पार्वतीपुर स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष, खगेरी सिँचाइ उपभोक्ता समितिको सदस्य, पार्वतीपुर प्रेरणा साकोसको निवर्तमान अध्यक्ष, पार्वतीपुर मेलमिलाप समितिको निवर्तमान संयोजक हुँदै आफ्नो पुरै जीवन नै राजनीति र समाजे सेवा क्षेत्रमा खर्चिएका छन् अधिकारीले । अधिकारी भरतपुर माहानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएपछि चितवनमा एक खालको तरंग नै पैदा भएको छ । अबको महानगरको विकास कसरी अगाडि बढ्छ र आम मतदातासँगै आम जनमानसमा विकासको बिजारोपण कसरी हुन्छ त्यो भने हेर्न नै बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>