Breaking News

को हुन् भरतपुर महानगरकी मेयर रेनु दाहाल ?

Banner

चितवन, जेठ १०-

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि रेनु दाहाल निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रबाट सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रेनुले स्थानीय निर्वाचनमा विजय हासिल गरेकी हुन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछाडि पार्दै विजय हासिल गरेकी छन् ।

देशको मध्य भागमा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र अन्य दलभन्दा कमजोर हुँदाहुँदै पनि राजनीतिक प्रभावका कारणले प्रचण्डकी सुपुत्री दाहाललाई मेयरको उम्मेदवार बनाएसँगै विशेष चर्चा पाएको थियो । सत्ता गठबन्धनको निर्णय मान्दैनौ भनेर चितवन कांग्रेसका केही नेता तथा कार्यकर्ता आन्दोलित भएसँगै भरतपुर महानगरको चर्चा झनै बढ्न गयो । कांग्रेसबाट अपेक्षित मत आउँदैन कि भन्ने माओवादी केन्द्रालाई शंका थियो तर दाहालले कांग्रेस मात्र नभएर एमालेको पनि मत प्राप्त गर्दै फराकिलो मतान्तरले विजयी बन्न सफल भइन् । निर्वाचन अघि देशका शीर्ष नेताहरुको भरतपुरमा रेनुलाई जिताउन लर्काे नै लागेको थियो । अन्तत उनीहरुको प्रयास सफल भइछाड्यो । रेनुको जितसँगै प्रचण्ड परिवारसहित माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा नयाँ आशाको सञ्चार गराएको छ ।

झट्ट हेर्दा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ ।  विसं २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा जन्मिएकी दाहालले जनयुद्धको कारण बुवाआमासगै घर छाड्न पर्दा एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन् । युद्धकालिन समयमा बुवा प्रचण्ड र आमा सितासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड परिवारकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिईन् । युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिल कुमार पाठकसग विवाह गरेकी दाहालको ६ जनाको परिबार छ । सासु, ससुरा, श्रीमान् एवम् एकछोरा र छोरी उनको परिवारमा छन् । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन् ।

युद्दकालिन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भूमिका निर्वाह गरेकी दाहाल अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् । दाहाल २०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सहइन्चार्ज समेत भएकी थिइन् । सशस्त्र युद्धपछि शान्ति सम्झौता गरेर निर्वाचन मार्फत ठूलो दल बनेर पहिलो पटक माओवादी संसदमा छिर्दा दाहाल २०६४ देखि २०६९ सम्म संविधानसभा सदस्य रहेकी थिइन् । २०७४ मा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रहेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन् । काठमाडौंमा पार्टीको सेक्रेटरी भएर काम गरेकी दाहाल संगठन निर्माणमा अव्बल मानिन्छन् । अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रही संगठन निर्माण गर्दा उनी माओवादी आन्दोलनभित्र र बाहिर निकै चर्चित थिइन् ।

देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन् । जो सँग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासँग प्रभावित हुन्छन् । उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउँदै भरतपुर महानगरको मेयर बनेकी थिइन् । भरतपुरमा चर्चित मतपत्र काण्ड भएपछि वडा नम्बर १९ मा भएको पुननिर्वाचनमा दाहालको जित भएको थियो । अहिले फराकिलो मतान्तरले विजयी भएसँगै माओवादी केन्द्रलाई अघिल्लो पटक लागेको मतपत्र च्यातेको दाग अहिले मेटिन गएको छ ।

गएको पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्वपूर्ण काम गरेकोले उनले लोकप्रिय मत प्राप्त गरेको माओवादी निकट विश्लेषकहरुको दाबी छ । अबको कार्यकालमा उनले के कस्तो भूमिका खेलेर जनअपेक्षाको सम्बोधन गर्छिन् त्यो भने हेर्न नै बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>