Breaking News

जस्ता व्यक्तिलाई पनि शहीद घोषणा गर्न दबाबः शहीद शब्द प्रतिनै अवमूल्यन

Banner

प्रतिमा कुमाल,
चितवन, २८ वैशाख –

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए….

कवि भूपि शेरचनले आफ्नो कवितामार्फत पनि शहीद कस्ता व्यक्ति हुन् भन्ने कुरा दर्साउन खोजेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार ‘शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ ।’ नेपालको पहिलो शहीद लखन थापा मगरलाई मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको हुकुमी निरङ्कुस जहानीय राणा शासनविरुद्ध विद्रोह गर्दा थापालाई विसं १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो ।

थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विसं १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचली भन्ने स्थानमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको थियो । धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो ।

त्यसैगरी, सोही वर्षको माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सोही दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधेर गोली हानी हत्या गरिएको थियो । देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान उनीहरुले दिएका थिए ।

नेपालमा प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा धेरै मानिसहरुको हत्या भएको थियो । ती व्यक्तिहरुलाई राज्यले शहीद घोषणा गरेको छ । उनीहरुको सम्मान स्वरुप हाम्रो शीर झुक्छ । तर, अहिले शहीद भनेको को हुन् भनेर गुगोल र पुस्तकहरुमा उचित अर्थ खोज्नुपर्ने अवस्था छ ।

राजनीतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनीतिक स्वार्थअनुरुप शहीदहरु तोक्ने अनि खुद्रारुपमै शहीदहरुको नाम तयार गरिदिएका छन् । शहीद शब्दलाई यति सामान्य बनाइएको छ कि आज भोलि जो पनि जस्तो पनि शहीद हुनुपर्ने माग हुन्छ । अहिले चितवनमा यस्तै द्विविधा उत्पन्न भएको छ ।

पछिल्लो समय चितवनमा हत्या भएका अनिल परियाल (कान)लाई पनि नेपाली कांग्रेस चितवनले शहीद घोषणा गर्नुपर्ने माग गरेको छ । कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेका मृतक परियारलाई शहीद घोषण गर्नुपर्ने माग राख्दै सभापति राजेश्वर खनालले विज्ञप्ति समेत जारी गरेका थिए । खनालले नारायणी अनलाइनसँग कुराकानी गर्दै मृतकको परिवारले परियारलाई शहीद घोषणा गर्नुपर्ने माग गरेपछि केन्द्रीय कार्यालयमा प्रस्ताव गरेको बताए ।

पार्टीको सक्रिय कार्यकर्ता तथा निर्वाचन प्रचारप्रसार कै क्रममा मारिएकाले शहीद घोषणा गर्नुपर्ने माग राखिएको खनालले बताए । मृतक परियार भरतपुर महानगरपालिका–१२ का वासिन्दा हुन् । उनको वैशाख २५ गते भरतपुर–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति ७ः३० बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।

चक्कुले छातीदेखि पेटको भागसम्म ३० पटक प्रहार गरिएको भरतपुर अस्पतालको पोस्ट मार्टम रिपोर्टबाट खुलेको छ । यता प्रहरीको नजारमा भने मृतक परियार अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति हुन् । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार मृतक परियार ज्यान मार्ने उद्योग, अपराधिक उपद्रो तथा चोरी र सामाजिक मुद्दाहरुमा मुछिएका व्यक्ति हुन् । यसै क्रममा उनले जेल जीवन पनि बिताएका थिए ।

हत्यामा संलग्न आरोपितहरुको खोजी भइरहेको अधिकारीले जानकारी दिए । अनुसन्धान टुंगो लागेपछि सबै कुरा सार्वजनिक गर्ने अधिकारीले बताए । हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) चितवन आएको छ । बागमती प्रदेश प्रहरीसहित चितवन प्रहरी पनि अनुसन्धानमा लागिपरेको छ ।

अहिलेसम्म हत्यामा एक जना अजय सिंह भन्ने भारतीय नागरिकको संलग्नता रहेको भनी प्रहरीले खोजी थालेको छ । हाल नेपालमा अपराधिक समूहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका व्यक्ति समेतलाई राजनीतिक दबाबमा शहीद घोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने व्यक्ति शहीद हुन् वा दलप्रतिको बफादार राजनीतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागि लड्दालड्दै ज्यानको आहुती दिने व्यक्तिलाई राज्यले शहीदको सम्मान दिन मृतकको देश र जनताप्रतिको त्याग र समर्पण हुनुपर्दछ । तर, कुनै अमूक दलकै सदस्य भएकै नाताले जबरजस्त शहीद घोषणा गर्नु र माग गर्नु वास्तविक शहीद प्रतिको अपमान र शहीद शब्दकै बदनाम गर्ने कार्य हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>