Breaking News

रत्ननगरमा मेयरका उम्मेदवारहरुको मुख्य एजेण्डा पर्यटन, पर्यटकीय शहर बनाउने प्रतिबद्धता

Banner

चितवन, वैशाख २६-

चितवनको रत्ननगर नगरपालिकाका मेयर पदका उमेदवारहरुको मुख्य प्राथमिकतामा पर्यटन क्षेत्र परेको छ । उनीहरु नगरलाई पर्यटनमैत्री शहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै घरदैलोमा जुटेका छन् ।

क्षेत्रीय होटल संघ चितवनले गरेको अन्तक्रियामा उनीहरुले सौराहामा केन्द्रित पर्यटनलाई नगरभित्र विस्तार गरी पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अहिलेको नगरको नेतृत्वले पर्यटन विकासको लागि गरेका कामहरुलाई थप बल पुग्ने गरी पर्यटकीय पूर्वाधार निर्माण गर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा नेकपा एमालेबाट मेयर पदकी उमेदवार विमला दुवाडीले सौराहाको पर्यटनलाई नगरभरी विस्तार गर्ने बताइन् । आफू उपमेयर हुँदा नगरपालिकाले झुवानीमा वाटर किङडम निर्माण सुरु गरेको भन्दै वाटर किङडम, टिकौली इकोपार्क, मनीखोला पार्क तथा धार्मिक मन्दिरहरुलाई पर्यटकीय आकर्षण केन्द्र बनाउने बताइन् ।

उनले बाढीको जोखिमबाट सौराहालाई जोगाउन राप्तीमा र बुढीराप्तीमा ड्याक निर्माण गर्ने बताइन । सौराहाको पर्यटन विकासको लागि निकुञ्जको अवलोकनको लागि पर्यटकले काट्ने टिकटको अवधि तीन दिनको बनाउन केन्द्र सरकारसँग पहल गर्ने, पर्यटन समिति बनाई पूर्वाधार निर्माण, नगरपालिका र निजी क्षेत्रको लगानीमा सौराहामा बालउद्यान, सौराहामा सार्वजनिक शौचालय निर्माणलगायतका काम गर्ने बताइन् । नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले रत्ननगरलाई पर्यटनमैत्री शहर बनाउन पूर्वाधार निर्माणलाई जोड दिने बताए ।

सौराहाको विकासको लागि राप्तीमा ड्याक र सौराहाचोक देखि सौराहा सम्मको सडक फराकिलो बनाउन आवश्यक रहेको भन्दै उनले आफूले त्यसका लागि प्राथमिकताका साथ काम गर्ने बताए । उनले सौराहाको लागि गुरुयोजना निर्माण गरी काम गर्ने बताए । हामी हचुवाको भरमा काम गर्दैनौं उनले भने अर्थपूर्ण हुने गरी योजना बनाएर काम गर्नेछौं । सौराहाको फोहोर व्यवस्थापन र जीप सफारीको व्यवस्थापन प्राथमिकतामा रहने उनको भनाइ छ ।

सापकोटाले सौराहाको पर्यटन नगर भरी विस्तार गरी स्थानीय समुदायको आयआर्जन र जीविकोपार्जनको आधार निर्माण गर्ने बताए । चितवन उद्योग संघका पूर्वअध्यक्ष भेषराज दुवाडीले सौराहालाई पर्यटन सिटीको रुपमा विकास गर्न सुझाव दिए । ‘स्मार्ट सिटी रत्ननगरलाई सुहाउँदैन’ उनले भने ‘सौराहालाई सिरानी हालेर रत्ननगरलाई पर्यटन सिटी बनाउनुपर्छ । क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष सुमन घिमिरेले कोरोनाले थलिएको सौराहाको पर्यटनलाई पुनर्जीवन दिन आउने जनप्रतिनिधिहरुले गन्तव्यको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका महसचिव गुणराज थपलियाले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।  क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको सो अन्तरक्रियामा होटल संघ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट प्रमुख अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>