चितवन विशेष

चितवनका शैक्षिक व्यक्तित्व रानामगरको शालिक शिलान्यास

Banner

चितवन, वैशाख २५-

पूर्वी चितवनको वीरेन्द्र आदर्श माध्यमिक विद्यालय स्थापना गर्न योगदान गरेको भन्दै सामाजिक व्यक्तित्व प्रेमबहादुर रानामगरको शालिक निर्माणको लागि सिलान्यास गरिएको छ ।

प्राथमिक विद्यालय भए पनि माध्यमिक तहको अध्ययन गर्न टाढा जानु पर्ने बाध्यतालाई हटाउँदै रानामगरले आन्दोलन गरेर दबाब दिएपछि मात्र माध्यमिक विद्यालय स्थापना भएको थियो । लामो समयदेखि उनको शालिक स्थापना गर्ने भने पनि विभिन्न कारणले काम हुन नसक्दा आज शिलान्यास भएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कँडेलले जानकारी दिए ।

‘यो विद्यालय स्थापनामा उहाँको योगदानलाई हामीले सम्झन पर्छ’ उनले भने, ‘ उहाँको कारणले गर्दा यहाँ शैक्षिक विकास भएको छ ।’ शिक्षाको क्षेत्रमा योगदान दिएका व्यक्तिको इतिहासलाई जोगाउन शालिक स्थापना गर्न लागिएको उनले बताए । प्रेमबहादुर रानामगर प्रतिष्ठानका अध्यक्ष परुन गुरुङले उनको नामबाट प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्य गर्दै आएको जानकारी दिए । भूतपूर्व सैनिक रानामगरले वीरेन्द्रनगरको बस्ती स्थापनाका लागि धेरै भूमिका खेलेको उनले बताए ।

रानामगरका भाञ्जा नारायणसिं थापामगरले विद्यालय स्थापना गर्नको लागि रानामगरको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग ४८ घण्टा बन्द गरिएको जानकारी दिए । धेरै प्रयास गर्दा पनि काम नभएपछि राजमार्ग बन्द गरेर दबाब दिएपछि मात्र माध्यमिक विद्यालय स्थापना भएको थापामगरले बताए । शालिक निर्माणमा रानामगरको परिवारले लगानी गर्ने प्रेमबहादुर रानामगर प्रतिष्ठानका सल्लाहकार सहनलाल लामाले जानकारी दिए । शालिक स्थापना अगाडि बाजागाजा सहित कार्यक्रम स्थलमा आएको थियो । वीरेन्द्र आदर्श माध्यमिक विद्यालय अगाडि पूर्णकदको शालिक निर्माण गरिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>