Breaking News

आगामी स्थानीय तहको निर्वाचनमा एमालेले दुई तिहाई सिटमा विजय हासिल गर्छ: अधिकारी

Banner

चितवन, वैशाख २५-

नेकपा एमालेका वाग्मती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले दुई तिहाई सिटमा विजय हासिल गर्ने दाबी गरेका छन् ।

नारायणगढको क्याम्पाचौरमा आज भएको एमालेको चुनावी सभामा बोल्दै उनले विगतको निर्वाचनमा ५२ प्रतिशत सिटमा विजय हासिल गरेको भए पनि यसपटक दुई तिहाई सिटमा विजय हासिल गर्ने बताए । उनले त्यसका केही आधारहरु प्रस्तुत गर्दै भने, ‘दरो अडान भएको नेता र नेतृत्व एमालेसँग हुनु, व्यापक संगठनात्मक सञ्जाल, बलियो जनाधारनै एमालेको विजयको आधार हो ।’ उनले यसपटकको निर्वाचनमा एमालेले कीर्तिमान कायम गर्ने गरी विजय हासिल गर्ने दाबी गरे । उनले पहिलो पटक यो देशमा एमालेले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा व्यापकरुपमा अत्यन्तै महत्वपूर्ण काम अगाडि बढाएको विचार राखे ।

उनले भने, ‘ जंगबहादुर राणापछिको इतिहासमा केपी शर्मा ओली नै इतिहास हो जसले हाम्रो देशको गुमेको भूभागलाई देशको नक्सालाई समेट्नु भएको छ । देशको नक्सा बदलेको छ नेकपा एमालेले । देशलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउँदै एमाले अगाडि आएको छ । आज यो देशलाई एउटा बलियो पार्टी चाहिएको छ । समृद्धिका लागि हामी आएका छौं ।’ उनले भरतपुर एउटा सपनाका साथ अन्तर्राष्ट्रियस्तरको महानगर बन्नुपर्ने बताए । उनले भरतपुर मानवीय विकाससहितको महानगर बन्न आवश्यक रहेको बताए । उनले भरतपुरका एमालेका उम्मेदवार विजय सुवेदीको प्रशंसा गर्दै भने, ‘विकासको परिभाषा बुझेको त्यस्तो नेतालाई अगाडि सारेका छौं । नयाँ भरतपुर बनाउने संकल्प बोकेर अगाडि आउनु भएको छ । जिम्मा पाएको काम गरेर नै छाड्ने नेता हुनुहुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>