Breaking News

नेताहरुले मणिको सपना बाँडेर माडीबासीलाई धोका दिएः विक्रम पाण्डे

Banner

चितवन, वैशाख २४-

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडीलाई मणि बनाउन सपना बाँडेर माडीबासीलाई धोका दिएको आरोप लगाएका छन् ।

राप्रपाको चुनावी घरदैलो अभियानलाई माडी बरुवामा सम्बोधन गर्दै उनले विकासका परिकल्पनाहरुको घाँटी निमोठोर जनतालाई धोका दिने काम भएको बताए ।

पाण्डे २०७० सालमा माडीसहितको चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएर संविधानसभा सदस्य र मन्त्री बनेका थिए । ‘मेरो कार्यकालमा मैले माडीको विकासको परिकल्पना गरेको थिएँ, अहिले ती योजनाहरुको घाँटी निमोठ्ने काम भएका छन्, म ज्यादै दुःखी छु’, उनले भने, ‘ठूला भाषण, मणि र आकाशे पुलका सपना बाँडेर जनतालाई धोका दिने काम गरका छन् ।’ उनले गोविन्दवस्तीदेखि बनकट्टासम्म निकुञ्ज तथा रिउ किनारमा फोर लेन सडकसहितको तटबन्धनको गुरुयोजनानै अलपत्र पारेको दुःखेसो गरे ।

जंगली जनावरलाई मानव बस्ती जान रोक्न रिउ कोरिडोरमा तटबन्धनसहितको सडक बनाउन पछिल्ला सरकार अनुदार बनेको बताए । माडी चक्रपथको योजना पनि पूरा गर्न नगरपालिकाले बेवास्ता गरेको बताए । ‘चक्रपथको काम भैरवपुरसम्म पु¥याएका थियौँ, अहिले लथालिंग बन्यो, चक्रपथनै बिलाउने अवस्थामा पुग्यो’, उनले भने, ‘माडीलाई ईको नगरका रुपमा इलेक्ट्रिक बसहरु चलाउने योजना पनि हराए ।’

उनले विदेशीको इशारामा नेताहरु लाग्दा माडीले विकासको फड्को मार्न नसकेको बताए । ‘नेताहरुको अवस्था परिवर्तन गर्न व्यवस्था बदलियो, तर जनताको अवस्था बदलिएन, जनताको अवस्था दयनीय बन्यो’, उनले भने, ‘व्यवस्था जनताका लागि हुनुपर्छ, जनता समस्याहरु समाधान गर्न जनप्रतिनिधि प्रतिबद्ध बन्नुपर्छ ।’ माडीलाई अर्गानिक कृषि उत्पादनको मुख्य थलो बनाउन पहल हुनुपर्ने बताए । किसानलाई उत्पादन बढाउन आवश्यक योजनाहरु बनाएर विश्वभरीनै मेड इन माडीको अवधारणा कार्यान्वयन गर्न अबका जनप्रतिनिधि लाग्नुपर्ने बताए ।

माडीमा राप्रपा र एमालेबीच मेयर र उपमेयरमा तालमेल भएको छ । एमालेबाट ताराकुमारी काजी महतो, राप्रपाबाट मदनप्रसाद पौडेल उपमेयरको उम्मेदवार छन् । वडा तहमा एमाले र राप्रपाबीच मित्रवत प्रतिस्पर्धा हुनेछ । राप्रपाका तर्फबाट वडा नम्बर १ मा अमित लामा, २ मा अर्विन गुरुङ, ३ मा भीमबहादुर कुँवर, ४ मा कृष्णबहादुर घर्ती, ५ मा टिकाराम भट्टराई, ६ मा गंगा गुरुङ, ७ रामकृष्ण क्षेत्री, ८ मा वीरेन्द्रबहादुर भण्डारी, ९ मा कुलबहादुर दुरा वडाध्यक्षको उम्मेदवार छन् । पूर्वमन्त्री राप्रपाका उम्मेदवारलाई जिताउन आज दिनभर माडीका ९ वटै वडाका चुनावी घरदैलोमा सहभागी हुँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>