धार्मिक/सांस्कृतिक

राष्ट्र कल्याण र विश्व शान्तिका लागि गोरक्ष महायज्ञ सुरु

Banner

काठमाडौँ, २४ वैशाख- 
विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख शुक्रबारदेखि गोरक्ष महायज्ञ २०७९ सुरु भएको छ । जेठ २ गतेसम्म आयोजना गरिने ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन गरिने छ । ११ दिनसम्म पशुपति क्षेत्रको मृगस्थलीमा महायज्ञ सुरु भएको हो ।

एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताउनुभयो । त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा कीरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो । गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैलाएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।

महायज्ञका लागि कामरुप कामाख्यबाट १० महाविद्यामा सिद्धिप्राप्त गुरु डा दिवाकर शर्मालाई ल्याइएको छ । उहाँको नेतृत्वमा ५१ वैदिक र तान्त्रिक गुरुहरू सहभागी भएर महायज्ञ सुरु भएको आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाउनुभयो । महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनलाई पनि आमन्त्रण गरिएको छ ।

महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत बोलाइएको आयोजक समितिले जनाएको छ । ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत गरिने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>