Breaking News
भरतपुर महानगरपालिकामा लक्ष्यभन्दा ११३ किलोमिटर कम सडक पिच

चितवन, वैशाख २२-
भरतपुर महानगरपालिकामा सडक निर्माणमा निकै ठूलो प्रगति गरेको भनिए पनि लक्ष्यअनुसार काम हुन नसकेको पाइएको छ । सडक निर्माणलाई विशेष प्राथमिकता दिएर मेयरकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्षमा निकै राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । तर, दाबी गरिएजस्तो विकास भएको तथ्यांकले देखाउँदैन ।
भरतपुर उप–महानगरपालिका हुँदा नै सन् २०२२ सम्ममा ७३५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना थियो । तर, चित्रवन र नारायणी नगरपालिका गाभिएर भरतपुर महानगरपालिका बने पनि उपमहानगरपालिका हुँदा नै बनाएका सडक कालोपत्रे पिचको लक्ष्य अनुसार काम हुन सकेको छैन् ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४\०७५देखि २०७८ फागुन मसान्तसम्म ६२२ किलोमिटर मात्र सडक कालोपत्रे पिच गरेको छ । यो उपमहानगरपालिका हुँदा बनाइएको लक्ष्य भन्दा ११३ किलोमिटर कम सडक पिच हो ।
महानगरपालिकाले २०४ किलोमिटर सडक पुर्ननिर्माण गरेको छ । त्यस्तै ग्राभेल सडक निर्माण १६५, ग्राभेल सडक स्तरोन्नति २९५, कच्ची सडक १९० र ढलान तथा मोजाइक सडक २४ किलोमिटर निर्माण तथा विस्तार गरेको महानगरपालिकाको पाँच वर्षे समीक्षा किताब–२०७९ मा उल्लेख गरिएको छ ।
२०७३ कात्तिक १० गते तत्कालिन भरतपुर उपमहानगरपालिकाले सडक सञ्जाल विकासलाई व्यवस्थित गर्ने गरी गुरुयोजनासहितका योजना सार्वजनिक गरेको थियो । सो योजनाअन्तर्गत नगर क्षेत्रभित्र सडक तथा यातायातको पहुँचको अवस्था, निर्माण, मर्मत, सुधार, स्तरोन्नती र पुर्ननिर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधालगायतका विषयलाई समेटेर योजना बनाइएको थियो ।
तत्कालिन भरतपुर उपमहानगरपालिकाले ‘क’ वर्गका ११ वटा सडकको ७२ किलोमिटर, ‘ख’ वर्गका ४९ वटा सडकको १४३ किमी, ‘ग’ वर्गका १२६ वटा सडकको १९८ किमि, ‘घ’ वर्गका २६९ किमी सडकहरुको विकासको योजना अघि सारिएको थियो । यसका लागि एक अर्ब २२ करोड ४३ लाख ३२ हजार रुपैयाँ खर्चिने योजना थियो । सो अवधिमा २४ मिटर चौडा सडकलाई ‘क’ १६ मिटर चौडा सडकलाई ‘ख’ नौ मिटर चौडा सडकलाई ‘ग’ र ६ मिटर चौडा ‘घ’ मा वर्गीकरण गरिएको थियो । सोही अवधिदेखि भरतपुरमा ६ मिटर भन्दा कम सडक भएको स्थानमा घरको नक्सा पास समेत हुन छाडेको हो । त्यतिखेर पुलचोक, आँपटारीचोक, बाइपास, ब्रम्हटोल, छिम्केश्वरी, टिकौली, चेकपोष्ट, बनदेवीचोक, गणेशचोक, टाँडीचोक, पाण्डेचोक, अन्नपूर्ण डेरीचोक, उज्वलचोक, छितामाई मन्दिरचोक, बनकट्टा, पदमपोखरी, लाउरेचोक, शिवनगर, मंगलपुर फुर्तीचोक, शिवघाट, रामघाट हुँदै नदी किनार पुलचोक निस्कने गरी योजना बनाइएको थियो । सडक निर्माणका लागि गुरुयोजनाअन्तर्गत पाँच वर्षको बजेट विनियोजन भएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७३ फागुन २७ गतेको निर्णयले भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाविससमेत थप गरी भरतपुर महानगरपालिकामा स्तरोन्नती गरेको हो । भरतपुरमा सडक क्षेत्रको तीव्र विकास भएको भनिए पनि महानगरपालिका भएपछि सडक स्तारोन्नतीका योजना कम आएको कांग्रेसबाट निर्वाचन एक वडाध्यक्षले बताए । ‘भरतपुरमा हाम्रो कार्यकालमा सडकमा नयाँ यस्तो योजना आएनन् । सुशिल कोइरालाको पालामा बनेका योजना नै अगाडि बढे,’ उनले भने, ‘प्रचण्डले उद्घाटन गरेको रिङरोड अझै बन्नसकेको छैन ।’ आफ्नो कार्यकालमा केही महत्वपूर्ण काम भए पनि सडक विस्तार मात्रै विकास नभएको उनले बताए । उनले अहिलेको नेतृत्वले योजना बनाउने र बजेट ल्याउने व्यक्तिलाई नसम्झि एक्लौटी आफूले मात्रै विकास गरेँ भन्दै हिडेकोमा चित्त समेत दुखाए । तर, भरतपुर महानगरपालिकाको यो कार्यसमितिले सडक स्तारोन्नतीलाई नै आफ्नो सबैभन्दा महत्वपूर्ण काम भएको दाबी गर्दै आएको छ ।
























