चितवन विशेष
भरतपुर ११ का एमाले उम्मेदवार मल्ल, यसकारण छन् वडामा लोकप्रिय

चितवन, वैशाख २१-
भरतपुर महानगरपालिका वडा ११ मा एमालेका उम्मेदवार कमल मल्ल लोकप्रिय उम्मेदवारको रुपमा मानिन्छन् । उनले वडामा गरेको सामाजिक कामका कारण उनी लोकप्रिय भएका हुन् । भोजाडको नयाँ किरण माध्यमिक विद्यालयलाई ७० लाख १७१ रुपैयाँ दान गरेसँगै वडामा मल्लको लोकप्रियता चुलिएको हो । उनकै लोकप्रियताकै कारणले निर्वाचनमा सत्ता गठबन्धनलाई उनीसँग प्रतिस्पर्धा गर्न त्यती सहज देखिँदैन ।
मल्लले २०७५ जेठ ७ गते विद्यालयको स्वर्णमहोत्सवमा सो दान गरेका हुन् । नयाँ किरण माविका प्रधानाध्यापक रामेश्वर अधिकारीले उहाँ आफू शिक्षक सेवाबाट सेवानिवृत्त भएकोले पनि शिक्षा क्षेत्रमा सहयोग गर्न चाहेको बताए । उनले भने, ‘ उहाँले गरेको सहयोगबाट हामी विद्यालयलाई जग्गा किन्ने सुरमा रहेका छौं ।’ उनी वडा अध्यक्षमा निर्वाचित भएपछि कमाउने भन्दा पनि समाजसेवा मार्फत् नागरिकको सेवा गर्न चाहन्छन् ।
पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्यालले कमल मल्ल सरल र सबैसँग मिल्ने स्वभावको नेता भएकोले वडा नम्बर ११ मा लोकप्रिय रहेको बताए । उनले भने, ‘ धेरै वषै कर्णाली अञ्चलको हुम्ला जिल्लामा पढाएर सेवा निवृत्त भएकोले पनि उनले तल्लो तहको गरिब र विपन्न नागरिकलाई राम्रोसँग बुझ्न सक्छन् । जोसँग पनि मिल्ने स्वभावले उनको लोकप्रियता बढेको छ ।’ कुनै कमिसन र तलब नै नलिने स्वाभावका उनका लागि राजनीति नै सेवा भएको अर्यालले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मल्लका श्रीमान् श्रीमती दुवै जना पेन्सन बुझ्छन् । छोराछोरी पनि छैनन् । उनको परिवार भनेको नै समाज हो ।’
भरतपुर महानगर पालिका वडा न ११ मा एमालेका तर्फबाट अध्यक्षमा मल्लसहित सदस्यमा लालमाया लामा, सिताकुमारी रनपाल, भोजराज सुवेदी र सागर कुमाल चुनावी प्रतिस्पर्धामा छन् । आगामी स्थानीय निर्वाचनमा जनसंख्याको हिसाबमा भरतपुर महानगरको सबैभन्दा ठूलो वडा भएकोले पनि यहाँको निर्वाचनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
निर्वाचनमा वडा अध्यक्षको लागि घरदैलोमा खटिएका मल्लले आफूले वडाको भौतिक विकास निर्माणसँगसँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्ने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मैले वडामा दलित, महिला, अल्पसंख्यक, एकल महिला, सुकुमबासी, गरिब समुदायहरुको सामाजिक सशक्तिकरणलाई मुख्य प्राथमिकता दिने छु । जनसंख्या बढ्दै गएको वडालाई हरियाली र सुन्दर बनाउनेमा पनि मेरो ध्यान जानेछ ।’
२००७ सालमा पर्वत जिल्लाको मल्लाजमा जन्मिएका मल्लको परिवार २०१७ सालमा नै चितवन बसाइँ झरेको हो । विसं २०२८ पोखराको पृथ्वी नारायण क्याम्पसमा आईएड पढ्दादेखि कम्युनिस्ट राजनीतिमा लागेका मल्ल बीएड उतीर्ण गरेसँगै डोल्पा र हुम्लामा झण्डै तीन दशक शिक्षकको रुपमा काम गरेर २०६० सालमा सेवानिवृत्त भएसँगै चितवनको एमाले राजनीतिमा सक्रिय भएका हुन् । उनी भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मा एमालेको वडा सचिव, क्षेत्रीय कमिटी अध्यक्ष, नगर कमिटी सल्लाहकार, जिल्ला कमिटी सदस्य हुँदै अहिले वाग्मती प्रदेश कमिटी सदस्य हुन् । एमालेबाट उनी वडाका अग्रज र बौंद्धिक नेताका रुपमा मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा बीएड उतीर्ण गरेका छन् ।
एमालेका वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले मल्ल आगामी स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ विजयी हुने दाबी गरे । मल्लले आफू जनताको सेवक बन्न चाहन्छु भन्दै तलब नचाहिने बताउँदै आएका छन् ।
एक दर्जनबढी संघसंस्थामा आवद्ध
मल्ल २०३२ देखि २०४२ सम्म सरस्वती मावि दुनै डोल्पामा शिक्षक पेशमा कार्यरत थिए भने २०४२ देखि २०६० सम्म मानसरोवर उच्च माध्यमिक विद्यालय सिमीकोट हुम्लामा शिक्षक पेसामा कार्यरत थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन हुम्लाको अध्यक्षमा तीन कार्यकाल काम गरे भने उनी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुन् । मल्ल ठकुरी समाज महासंघ केन्द्रीय कमिटीको केन्द्रीय अध्यक्ष, वागेश्वरी आध्यात्मिक परिषदको केन्द्रीय सचिव, वागेश्वरी योग तथा प्राकृतिक चिकित्सालयको कोषाध्यक्ष र देवघाट क्षेत्र विकास समितिको सदस्य पदमा रही काम गरी सकेका छन् । उनले विद्यालयलाई ७० लाखलगायत विभिन्न सामाजिक संस्थालाई छ लाख रुपैयाँ बढी सहयोग गरेका छन् ।


























