Breaking News
भरतपुरका सुकुमबासी भन्छन्ः हामीलाई कहिलेसम्म लालपुर्जाको आश्वासन ?

प्रतिमा कुमाल
चितवन, वैशाख १९–
चितवनमा स्थानीय निर्वाचनको लागि दलहरुको घरदैलोमा फेरि लालपुर्जाको विषय नै प्राथमिकतामा परेको छ ।
सुकुमबासी बस्तीमा पुग्दा प्राय सबै उम्मेदवारहरुले लालपुर्जाकै विषयलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन् । तर, सधै निर्वाचनमा चर्चा पाउने यो समस्याले निकास भने पाउन सकेको छैन । सुकुमबासीहरु भने कहिलेसम्म हो लालपुर्जाको आश्वासन भनेर निर्वाचनका उम्मेदवारहरुसँग प्रश्न गर्छन् ।
दलहरूले प्रत्येक चुनावमा घर, जग्गा दिने लगायतका आश्वासन बाँड्ने गरेको तर त्यसअनुसार काम नगरेकाले अब आश्वासनमा नभुल्ने भन्दै चितवनका सात वटै पालिकाका भूमिहिन, दलित सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विरोध गरेका थिए । साझापुरकै किल्लीराम महतो पनि लालपूर्जाको आशमा बसेका छन् । बर्सौदेखि भोगचलन गर्दे आएको १० धुर जग्गाको लालपूर्जा पाएपछि कसैले पनि सुकुमबासी भनेर नहेप्ने उनले बताए ।
अव्यवस्थित बसोबासी आनन्दप्रसाद चापागाइँले चुनावको मुखमा मात्र जनताको आवश्यकताको महसुस जनप्रतिनिधिलाई हुने गरेको बताए । विकास, जनताको माग, समास्याको समाधान चुनाव केन्द्रित हुन नहुने उनको धारणा छ । उनको १० धुर जमिन रहेको छ । सो जमिनको भोगचलन ४० वर्ष देखि गर्दै आएका छन् ।
सोही वडा सिसाबासका रामसिंह कुमालले जुनै पार्टीको सरकार बने पनि सुकुमबासीको समस्या ओझेलमा पर्न नहुने बताएका छन् । सरकार परिवर्तनसँगै अघिल्लो सरकारले गरेको राम्राकाम समते खारेज गर्ने शिलशिला रहेको उनले गुनासो गरे । पार्टीहरुले भोट आकर्षण गर्नमात्र जनताको मर्म बुझ्ने गरेको उनको भनाइ थियो ।
नारायणी नदी किनारमा उनको ५ कट्ठा १० धुर जग्गा रहेको छ । उनले त्यस जग्गाको भोगचलन गरेको ४५ वर्ष भयो । बर्सेनि बर्खामा नदीले जमिन कटान गर्ने हँुदा लालपुर्जासँगै तटबन्धन तिर समेत ध्यान दिन उनले आग्रह गरेका छन् । जग्गाको निस्सा प्राप्त गरेका कुमाललाई निर्वाचनले जुन सरकार ल्याए पनि भूमिहिन, दलित सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या निराकरण हुने आशा राखेका छन् ।
भूमिहिन आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले ५०० लालपुर्जा छपाइएको काम सकिएको जानकारी दिएका छन् । नारायणी अनलाइनसँग कुराकानी गर्दे उनले स्थानीय निर्वाचन आचारसंहिताका कारण वितरण कार्य रोकिएको जानकारी दिएका हुन् । चुनाव पछि सो लालपूर्जा वितरण गर्ने तिमिल्सिनाको भनाइ छ । छापिएका लालपूर्जा भरतपुर महानगरपालिका भित्रको रहेको छ । महानगरको २९ वटा वडा मध्ये २ र २९ का केही दलित सुकुमबासीलाई भने लालपूर्जा वितरण गरिसकेको छ । जग्गाको निस्सा भने सबैलाई प्रदान गरिसकेको तिमिल्सिनाले बताए । निस्सा भनेको सुकुमबासी बसेको भन्ने प्रमाण मात्र हो । भरतपुर महानगरपालिकामा भूमिहिन, दलित सुकुमबासी तथा अव्यवस्थित बसोबासी गरी १० हजार २९ जना रहेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आवासविहीन, भूमिहीन र सुकुमबासीले आफ्नो भोट राजनीतिक दलका आश्वासनसित नसाट्ने भने पछि जग्गाको निस्सा प्राप्त गर्न सकेको मंगले बोटेले बताए । साविक मेघौली गाविस वडा नंं ४ हाल भरतपुर २८ साझापुरका बोटेले विरोध र प्रदर्शनीबाट निस्सा हातमा आएको जीकिर गरेका छन् ।
























