चितवन विशेष

पूर्वीचितवनको रत्ननगरमा खुल्यो ‘सेभ सुपरमार्केट’

Banner

चितवन, वैशाख १९–

पूर्वीचितवनको रत्ननगर नगरपालिकामा नगरकै ठूलो ‘सेभ सुपरमार्केट’ संचालनमा आएको छ । सौराहाका १८ जना पर्यटन व्यवसायीको लगानीमा सौराहा भेन्चर्सले सेभ सुपरमार्केट संचालनमा आएको हो ।

सो सुपरमार्केको भोलि (मंगलबार) विहान १० बजे औपचारिक रुपमा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले समुद्घाटन गर्ने कार्यक्रम रहेको सुपरमार्केटका संचालक सुमन घिमिरेले जानकारी दिए । उनले दुई वर्षभित्रमा पूर्वीचितवनका चारवटै पालिकाहरुमा शाखा संचालन गर्नेगरि तयारी गरिरहेको बताए । पहिलो शाखाको रुपमा पर्यटकीय क्षेत्र सौराहामा संचालनमा ल्याउने र त्यसलगत्तै अन्य तीन पालिकाहरु खैरहनी, कालिका र राप्तीको मुख्य बजार क्षेत्रमा शाखा संचालन गर्ने तयारीमा रहेको घिमिरेले बताए । उनले यस सुपरमार्केटलाई विदेशमा जस्तै सपिङ टुरको रुपमा पर्यटनसंग जोड्न सकिने बताए । सोही अनुरुप सौराहामा आउने पर्यटकहरुलाई १/२ घण्टाको सपिङ टुर प्याकेज बनाउने सोँच बनाएको संचालक घिमिरेले बताए ।

सोमबार पत्रकार सम्मेलन गरि सुपरमार्केटले समुद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । सुपरमार्केट संचालक संस्था सौराहा भेन्चर्सका अध्यक्ष नारायण भट्टराईले विश्वभर फैलिएको कोभिड महामारीकै कारण सुपरमार्केटको जन्म भएको बताए । महामारीले पर्यटन व्यवसाय धरासायी बनाएको बेला वैकल्पिक व्यवसायमा पाइला चाल्ने सोँचमा पु¥याएपछि व्यवसायीहरुकै सामूहिक १६ करोड लगानीमा सुपरमार्केट संचालनमा ल्याएको अध्यक्ष भट्टराईले बताए । उनले सुपरमार्केट भित्र सुविधासम्पन्न चलचित्र हल समेत निर्माण गरिने बताए । यस सुपरमार्केट संचालनमा आएसंगै पूर्वीचितवनबाट दैनिक उपभोग्य वस्तुहरु खरिद गर्नका लागि लामो दुरीको यात्रा गरेर नारायणगढ जानुपर्ने बाध्यताबाट पूर्वीचितवनबासी मुक्त भएको बताए ।

सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत दिनेश घिमिरेले शुभारम्भको अवसरमा १२ दिन विशेष छुटको अफर ल्याईएको जानकारी दिए । उक्त अफर वैशाख २० गतेदेखि ३१ गतेसम्म सबै खाद्यान्न सामग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको बताए । सुपरमार्केटका अर्का संचालक दीपेन्द्र खतिवडाले रत्ननगरका अन्य बजारको जस्तै सस्तो र गुणस्तरीय सामग्रीहरु उपलध गराइने बताए । उनले ६ महिनापछि अझै हरेक सामानहरुमा मूल्यमा कमी ल्याउन प्रयास गरिने बताए ।

रत्ननगर नगरपालिका–१ पुरानो ज्योति हल भएको स्थानमा संचालनमा आएको यस सुपरमार्केट तीन तल्लाको रहेको छ । पहिलो तलामा घरायसी सामग्रीहरु उपलब्ध छ भने दोस्रो तल्लामा कपडा, भाडाकुडा, जुत्तालगायतका सामग्रीहरु उपलब्ध छ । तेस्रो तल्लामा स्केट पार्क र सुविधासम्पन्न चलचित्र हल संचालनमा ल्याउने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>