चितवन विशेष
नेपाल ट्रेड युनियन काँग्रेस चितवनले मनायो श्रमिक दिवस

चितवन, वैशाख १८–
नेपाल ट्रेड युनियन काँग्रेसले ‘दिगो विकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र सम्बृद्धिहाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ आज देशैभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले मजदुर दिवसका अवसरमा रत्ननगर नगरपालिकामा एक अन्र्तक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले लोकतन्त्रमा मात्रै मजदुरका हक अधिकार स्थापना गर्न सकिने बताए । उनले विकास र सम्बृद्धिले लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्ने बताउँदै श्रमजीवीहरु सधै चनाखो हुनुपर्ने बताए । लोकतन्त्रको स्थायीत्व र उन्नयनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा मजदुर नेताहरुले परिवर्तनका साझेदार श्रमजीवीहरुलाई राजनीतिक दलहरुले सधै हतियार मात्र बनाएको गुनासो गरेका थिए । उनीहरुले राजनीतिक दलहरुले निर्वाचन अगाडि गरेको बाचा बारम्बार भुलेको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेश अध्यक्ष धनश्याम चापागाई, बागमती प्रदेश सदस्य हरिमाया प्रधान, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो कार्यक्रम जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मे १ तारिखको दिन संसारका धेरै देशमा श्रमिक दिवस मनाईन्छ । नेपालमा विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । सन् १९६३ देखि औपचारिक रुपमा यो दिवस मनाउँदै आईरहेको छ ।
























