Breaking News

निर्वाचनमा नागरिकको अपेक्षाः भरतपुरमा दाम कमाउने जनप्रतिनिधि होइन, नागरिकको सेवक चाहिन्छ

Banner

प्रतिमा कुमाल

चितवन, वैशाख १७ –

स्थानीय तह निर्वाचन हुन अब धेरै दिन छैन । राजनीतिक दलका नेताहरु विभिन्न घोषणापत्रका चाङ बोकेर नागरिकका घरदैलोमा कुदिरहेका छन् । विभिन्न शासन व्यवस्था बदलिए पटकपटक विभिन्न पार्टीका सरकार बने तर नागरिकले राखेका अपेक्षा भने अझै पूरा हुन सकेनन् । कुर्चीको लडाइ, बेथिति, बेरोजगारी, आर्थिक संकट, भ्रष्टचार, महंगी, कालोबजारी, गैरकानुनी काम गर्नेलाई छुट, न्यायलय भित्र छिरेको राजनीतिले नेपाली नागरिकहरु राजनीतिदेखि आजित बनिरहेका छन् । तर, अझै पनि अबको स्थानीय चुनावले सही नेतृत्व चुन्ने सर्वसाधारण जनताको विश्वास छ । चुनिएर आउने जनप्रतिनिधिले जनचाहाना अनुसारको काम गर्ने अपेक्षा भरतपुर महानगरका नागरिकले गरेका छन् ।

भरतपुर महानगरपालिका–१० पूर्णिमा चोकका दिलिपराज सुवेदीले नेता तथा जनप्रतिनिधि स्वतन्त्र र समाजसेवी हुनुपर्ने धारणा राखे । स्थानीय, प्रदेश, केन्द्रका प्रतिनिधि जनताको सारथी भएकाले सेवा गर्ने मान्छे सेवा मै लाग्नुपर्छ भन्ने उनको भनाइ थियो । ‘नेपाल भरी हेर्दा आफै नेता आफै ठेकेदार देखियो । यस्तो प्रक्रिया हुनु हुदैन । राजनीति सेवा हो र सेवा गर्ने मान्छे सेवा मै लाग्नुपर्छ,’ उनले भने । जनताको सेवा गर्न गएका व्यक्तिलाई जीवन यापन गर्ने भत्ता बाहेक तलबको रुपमा रकम दिन नहुनेमा सुवेदीको सुझाव छ ।

नेतालाई ठेका–पट्टा गर्न दिने, तलब दिने गर्दा मान्छेमा वडाध्यक्ष, सांसद, मन्त्री, नेता हुने होडबाजी चलेको विचार उनले राखे । जनताको चाहाना अनुसार चल्ने स्थानीय, प्रदेश र केन्द्र सरकार होस् भन्ने उनको चाहाना छ ।

पछिल्लो पाँच वर्षे सरकारको कार्यकाल पदाधिकारीको तलब भत्ता बढाउने, आफै ठेकेदार, आफै ठेक्का लिने दाम कमाउने जस्ता हिसाब किताबमा बितेको उनको मूल्याङ्कन छ । पञ्चायत कालपछि जनताबाट नेताहरुको वाहवाह गर्ने, उफ्रने मात्र काम भएको जीकिर गरे । ‘चार वर्ष ३६४ दिन यो पार्टीले गरेन, उ पार्टीले गरेन, नेता यस्तो उस्तो भन्ने, जब चुनाव हुन्छ नेताले घाटीमा तेल हाल्दिने अनी झण्डा बोकेर मेरो पार्टी भन्ने दौडिने काम जनताबाट भएको छ,’ उनको भनाइ छ । नेपालको लागि गणतन्त्र, संघीय राज्य विकासको लागि नभएको धारणा राखे ।

आफ्नो असन्तृष्टि प्रकट गर्न आमा–बुबा, दिदी–बहिनी, दाजु–भाईसँग झगडा गर्ने व्यक्तिले दल, नेता, सरकारबाट भएको गलत प्रवृत्तिको विरोध गर्न सक्नुपर्ने सुवेदीको भनाइ छ । ज्येष्ठ नागरिक तुलसी सुवेदीले देश बिना मियोको दाई भएकोले राजनीति नैै राम्रो नभएको जीकिर गरिन् । देशको एउटै मियो हुनुपर्ने उनको भनाइ छ । एउटै शासन नभएकाले हत्या, हिंसा, बलात्कार, भ्रष्टचारलगायत बढेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिका–१० हिमाली चोक निवासी मुन्नी पोखरेलले जनताले नै हाम्रो भन्दा राम्रो व्यक्ति छनोट गर्नुपर्ने बताए । एउटा नराम्रोले राम्रोलाई पनि बिगार्ने भन्दै उनले उत्कृष्ट व्यक्ति छान्नुपर्ने बताए । जिते पछि जनप्रतिनिधिको मनमा आफू कुनै पार्टीको नभई जनताको हो भन्ने भावना हुनुपर्नेे बताए । पदमा आफ्नो मान्छे भए काम ट्याकटुक हुने प्रणाली अबको प्रतिनिधिले गर्नुपर्ने अपेक्षा पोखरेलको छ ।

भरतपुर महानगरपालिका–११ जागृति चोक निवासी गुरुदत्त तिमल्सिनाले राज्यको प्रणाली राम्रो हुनुपर्ने बताए । जबसम्म प्रणाली राम्रो हुदैन जतिनै राम्रो उमेद्वार छाने पनि उसले जनताको सेवा गर्न नसक्ने उनले बताए । नेपाली जनताले चाहेको विकास उमेद्वारबाट हुन नसक्ने उनको बुझाइ छ । सप्तगण्डकी बहुमुखी क्याम्पसमा शिक्षा संकायमा अध्ययनरत सन्तोषी कुमालले शिक्षा, रोजगारमा कायापलट गर्ने सरकारको आवश्यक्ता रहेको बताइन् । चौथो वर्षमा अध्ययनरत कुमालले गुणस्तरीय शिक्षा नहुँदा देशमा प्राविधिक विकास नभएको बताइन् । उच्च शिक्षा लिएर पनि बेरोजगार हुनुपर्ने, रोजगारीको लागि विदेशनै ताक्नुपर्ने बताइन् । काम अनुसारको पारिश्रमिक पनि मुख्य समस्या रहेको र शिक्षामा भएको व्यापारीकरण लगायतको समस्या हटाउने सरकार चाहिने उनको भनाइ छ ।

गृहिणी तथा महिला व्यवसायी लक्ष्मी सुवेदीले राजनीतिलाई कमाउने थलो बनाउन नहुने बताइन् । विकासमा सकारात्मक सोच सामाजिक सेवा विचारमा परिवर्तन भएका जनतालाई रिझाउन सक्ने प्रतिनिधिको आवश्यकता रहेको उनको भनाइ छ । जो जहाँबाट उम्मेदवार हुन्छन् उसले आफ्नो क्षेत्र कतिको विकास गरे मूल्याङ्कन गरेर उसलाई राजनीतिमा कहाँसम्म पु¥याउने जनताको हातमा हुने जीकिर गरे । साथै सुवेदीले पार्टीगत राजनीतिले सोचे जस्तो विकास र परिवर्तन नदिने भनाइ राखिन् । नेपालको राष्ट्रिय गान जस्तै सबै पार्टी एक मालामा गासिएर मात्र देशको उन्नति र प्रगति हुने उनको सोच छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>