Breaking News

चितवनका मुख्य निर्वाचन अधिकृतले भनेः पत्रकारले सत्यतथ्य नबुझी समाचार नलेखौं

Banner

प्रतिमा कुमाल

चितवन, वैशाख १५–

चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले सत्यतथ्य नबुझी कसैको बारेमा समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ चितवनद्धारा आयोजित स्थानीय तह निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता विषयक अतरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विज्ञापनदाता र व्यापारिक समूहको प्रभावमा पर्दा ‘जसको सिता खायो उसकै गीत गाउने’ प्रवृत्ति पत्रकारितामा देखिने उनको भनाइ थियो । साथै उनले पत्रकार कुनै राजनीतिक दल वा व्यक्तिबाट आर्थिक लाभ, दान उपहार लिने लगायतको प्रलोभनमा पर्न नहुने, पक्ष र विपक्षमा समाचार प्रकाशन गर्न नहुने, सत्य र तथ्य लेख्नुपर्नेमा ध्यानाकर्षण गराए । उनले नेपालमा विदेशमा जस्तो खोजमूलक पत्रकारिता हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे ।

अधिकारीले आचारसंहिता नैतिकताको मुख्य आधार भएको जीकिर गरे । पत्रकार आफै पनि सजक र सचेत रहेकोले आचारसंहिताको मनन् सबैले गर्नुपर्ने उनले सुझाव दिए । साथै उनले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही, दण्ड, जरिवानाको व्यवस्था हुनुपर्ने बताए । नत्र कानुनको महत्व नहुने र कानुन नमान्दा पनि हुन्छ भन्ने सन्देश प्रवाह हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघको विद्यान शंसोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । विधानमा नभएको व्यवस्था टेकेर राजनीतिमा लाग्ने पत्रकारलाई कारबाहीमा जान नसक्ने उनको भनाइ छ । उनले भने, ‘पत्रकार महासंघमा सुद्धिकरण, र विधानमा जुन प्रावधान छन् त्यसलाई स्पष्ट बनाउनुपर्नेे अनुभूति भएको छ । विद्यान बिना कुन आधारमा कारबाही गर्ने ।’

तर, विधानलाई टेकेर स्थानीय निर्वाचनमा उमेद्वार भएका पत्रकार महासंघको संरचनामा रहेका पदाधिकारी र सदस्यको पद स्वत खारेज हुने व्यवस्था गरेको जीकिर गरे । चितवन निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले कुनै पनि दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाएमा उजुरी दिन आग्रह गरेका छन् । केही दलले पार्टीको छाप भएको टोपी, टिसर्ट लगाएको, तोकेको भन्दा ठूलो झण्डा बोकेको पाइएमा उजुरी दिन नहिच्किचाउन अनुरोध गरेका हुन् । उजुरी दिने व्यक्तिको गोप्य राख्ने उनको भनाइ छ । साथै आचारसंहिता उलंघन गर्नेलाई २५ हजार देखि एक लाख सम्मको जरिवानाको व्यवस्था रहेको जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासंघ आचारसंहिता कार्यान्वयन गर्दै पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन लागिरहेको विचार राखे ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले दलीय पार्टी र संगठनलाई खुसी बनाउन तिर पत्रकार लाग्न नहुने बताएका छन् । पत्रकारबाट आचारसंहिता उलंघन भएका कुराहरु आएको भन्दै उनले मर्यादा भित्र रहेर पत्रकारिता गर्न निर्देशन दिए । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक अचार्यले पत्रकारिताको आधारभूत मूल्य मान्यता विपरित जाने पत्रकारहरुलाई आफ्नो संगठनले नछाड्ने बताए । उनले भने, ‘प्रेस युनियन कांग्रेसको भातृ संगठन होइन । पार्टीको झन्डा र चुनाव चिन्ह कुनै पनि कतै पनि प्रयोग गर्दैन ।’

सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकातिा विषयका प्राध्यापक तथा नारायणी अनलाइनका समाचार सम्पादक मधुसूदन दवाडीले पत्रकारले पत्रकार आचारसंहिता–२०७३ पालना गरे निर्वाचन आचारसंहिता पालनाको आवश्यक्ता नरहेको बताए । पत्रकारका लागि २०७३ सालमा बनेको आचारसंहिता पालना गरे निर्वाचनमा निश्पक्ष भूमिका खेल्न सकिने उनको भनाइ थियो । पत्रकारलाई मतदानको अधिकार छ तर खुले आम राजनीतिक दलको प्रचारप्रसार गर्ने अधिकार नभएको उनले जानकारी गराए । साथै उनले यस्ता समस्या हटाउन पत्रकार महासंघ राजनीतिक स्वार्थले भन्दा पनि व्यवसायिक रुपले अगाडि बढ्नुपर्ने जीकिर गरे । यस्तै दवाडीले पत्रकार महासंघको सदस्य स्वयम् राजनीतिक दलका विभिन्न संगठनमा काम गर्दा पत्रकारिताको निष्पक्षतामाथि प्रश्न उठेको धारणा राखे ।  ‘पत्रकारबाट समाजिक सञ्चालको दुरुपयोग भएको, सदस्यता नत्यागीकन उम्मेदवारी दिएको, दलीय र वर्गीय राजनीतिको प्रभावमा अनलाइन मिडिया सञ्चालन भएको छ ।,’ उनको भनाइ छ ।

दवाडीले स्वतन्त्र र निष्पक्षरुपमा कसैको पनि प्रभावमा नपरी काम गर्न सक्ने अवस्था चितवनमा नरहेको बताए । जसका लागि पत्रकार महासंघले राजनीतिक प्रभावलाई कम गर्दै लैजानुपर्ने उनको भनाइ छ । कार्यक्रममा अग्रज पत्रकार तथा कान्तिपुर दैनिकका संवाददाता रमेश कुमार पौडेलले निर्वाचनको समग्र प्रक्रियाको बारेमा राम्रोसँग सुक्ष्मरुपले अध्ययन गरेर समाचार लेखेमा यथार्थ जानकारी दिन सकिने विचार राखे । उनले भने, ‘ आफूले मनोनयनको दिनमा निर्वाचन अधिकृतको कार्यालयमा गएर सुक्ष्मरुपले प्रक्रियाबारे अध्ययन गरेर मात्र समाचार लेखेको थिए । यसरी सबैले स्वच्छरुपले वस्तुपरक ढंगबाट समाचार लेख्ने काममा लाग्नुपर्छ ।’ कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीकी केन्द्रीय सदस्य प्रतिमा सिलवाल र क्रान्तिकारी प्रेस संगठनका पत्रकार प्रेम कँडेलले आचारसंहिताको बारेमा टिप्पणी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>