चितवन विशेष

मिडियाका समाचार कक्षमा महिलाहरुको सहभागिता बढाउनुपर्ने सरोकारवालाहरुको जोड

Banner

चितवन, वैशाख १५-

नेपाली मिडियाका सम्पादक तथा सरोकारवालाहरुले समाचार कक्षमा महिला सहभागिता बढाउने विषयलाई प्राथमिकता दिनुपर्ने विचार राखेका छन् ।

मिडिया एक्सन नेपालले बुधबार गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैंगिक संवेदनशीलता’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनीहरुले महिला सहभागिता बढ्दै गए पनि अझै पर्याप्त नभएको बताएका हुन् । उनीहरुले सञ्चार गृहमा महिलाको सहभागिता बढेसँगै महिलाका सवालहरुले प्राथमिकता पाए पनि मिडियाको नेतृत्व तहमा कमै महिला पुगेको विचार राखे ।

कर्पाेरेट नेपाल डट कम अनलाइनकी प्रधान सम्पादक तथा राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमिल्सिनाले समाचार कक्षबाहेक महिलाहरुले घरपरिवारको जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने भएकोले पुरुष सहकर्मीको तुलनामा व्यवसायिक क्षमता महिलाले गर्न नसकेको बताइन् । उनले भनिन्, ‘ सबै क्षेत्रमा महिलाहरुले प्रगति र स्तरोन्नतिको लागि धेरै खाले समस्या र झन्झटहरु भोगिरहेको देखिन्छ । मिडिया हाउसहरुले नै महिला कर्मचारीहरुलाई अगाडि बढाउने प्रयासहरु गर्नुपर्छ ।’ पर्वतारोहीले हिमाल चढ्ने प्रसंग जोड्दै उनले हिमाल चढ्दा महिला पत्रकारहरु बेस क्याम्पसम्म पुगेको तर शिखर चुम्न बाँकी नै रहेको विचार राखिन् ।

त्यसैगरी छलफलमा द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेलले मिडियामा देखिएको प्रतिस्पर्धालाई जोड दिँदै नेपाली सञ्चार गृहले महिला पत्रकारहरुलाई तालिम र सिप दिने तर्फ ध्यान दिनुपर्ने विचार राखे । क्षमता र साधनस्रोत उपलब्ध भएमा नै उनीहरुले अनुसन्धानमूलक समाचारहरु गर्न सक्ने उनले बताए । उनले भने, ‘ पेसामा अगाडि बढाउने तर्फ ध्यान दिएमा समाचार कक्षमा लैंगिक संवेदनशिलताको विषयले प्राथमिकता पाउँछ । ’ उनले मिडियाका सञ्चालकहरुले पनि महिला र लैंगिक अल्पसंख्यकहरुको सहभागिता बढाउने तर्फ सहयोग गर्नुपर्ने विचार राखे । कार्यक्रममा पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले धेरै नेपालका सञ्चार माध्यमहरुले काम गर्ने संवाददाताहरुको लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि दिन नसकेको बताइन् । उनले पुरुषको तुलनामा महिलाले सोही काममा कम तलबमा काम गरिरहेको पाएको बताइन् । उनले भनिन्, ‘ हामीहरु यो समस्या समाधान गर्नको लागि काम गरिरहेका छौं । यो समस्या समाधान गर्नको लागि मेरो एक्लो प्रयास भन्दा पनि सामूहिक प्रयासको आवश्यकता पर्छ ।

क्यानडा फन्ड फर लोकल इनिसिएटिभस्को सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष तथा मिडिया फ्रिडम कन्सलटेटिभ नेटवर्कको सहअध्यक्ष लक्ष्मणदत्त पन्तले स्वागत मन्तव्य राख्दै मिडिया एक्सनले यो विषयमा धेरै छलफल गर्दै आएको बताए । उनले भने, ‘ हामीले नेपाली मिडियाका २३ हजार समाचारहरु अध्ययन ग¥यौं, त्यो हाम्रो वेभसाइटमा उपलब्ध छ । समाचार कक्ष लैंगिक हिसाबले कति संवेदनशिल छन् र कसरी महिला सहभागिता बढाउन सकिएला भन्ने विषयमा जान्न चाहेका छौं । यो अन्तरक्रियाले भविष्यमा यस समस्या समाधान गर्न के गर्न सकिएला भन्ने मार्गनिर्देशन हुनेछ ।’

नेपाली मिडियामा महिला पत्रकारहरुको बाइलाइन, यौनिक अल्पसंख्यक र समाचारका स्रोतहरुकोबारेमा मिडिया एक्सन नेपालले अध्ययन गरेको थियो । जसमा महिला पत्रकारहरुको सहभागिता ज्यादै न्यून भएको मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियंका झाले कार्यक्रममा जानकारी गराएकी थिइन् । उनले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् । अन्तक्र्रियामा देशका विभिन्न प्रदेशबाट ३५ जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>