कृषि

चितवनमा किसान र व्यवसायीको सम्पर्क बढाउने वेभसाइट सञ्चालनमा

Banner

चितवन, वैशाख १४-

चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले कृषि उपजको उत्पादन र आपूर्ति खरिदमा संलग्न निकायबीच मूल्य, स्थान समयको आधारमा सम्पर्क गराउने उद्देश्यले कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो ।

यस प्रविधिबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेभसाइटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरिद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली अगाडि बढेको अवस्थामा हामीले चितवन मार्केट डट पीएमएमपी डट जिओभी डट एपी मार्फत् कृषि उपजको अवस्था दैनिक अपडेट गर्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ‘यसले मूल्यको अवस्था र उत्पादनसँगै किसान र व्यापारीबीच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेभसाइट मार्फत किसानले कृषि उपजको आपूर्तीको विवरण र व्यापारीले खरिदको विवरण राख्न सक्नेछन् ।

भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकहरुले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए । ‘वेभसाइटको मूल्यसूचि हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ ।’ उनले भने, ‘यसले किसान र व्यापारीको सम्पर्क भई सहजै कृषि उपजको बिक्रीमा सहज हुने देखिन्छ ।’ यस वेभसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।

कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेभसाइटको प्राविधिक सहयोग ड्रिम वर्क सोलुसनले गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तुहरुको खेर फाल्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उदेश्यले दुई वर्ष अघिदेखि वेभसाइटको विकास गरेर अगाडि बढेको ड्रिम वर्क सोलुसनका निर्देशक सन्तोष जोशीले जानकारी दिए । उनले नेपालमा कृषि उपजको बजारीकरणमा सहज पु¥याउने गरी काम गरेको बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्तीका किसानहरु सहभागी भइसकेका छन् । छुटेका किसानहरुलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।

वेभसाइटमा मूल्य सूचि, खरिद र बिक्रीकर्ताको सिधै सम्पर्क गर्न सक्ने नाम, नम्बर उल्लेख गरिएको ड्रिम वर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमनूले जानकारी दिए । कृषि प्रवद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोड्ने प्रयास भएको भन्दै नियमित सञ्चालन गर्न अनुरोध गरे । यस प्रविधिले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए । चितवनमार्केट डट पीएमएएमपी डट जीओभी डट एनपी मार्फत किसान र व्यवसायीले आफ्नो विवरण राख्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>