चितवन विशेष

पञ्चायतदेखि गणतन्त्रसम्मको अनवरत विजय यात्रा, राप्तीमा मेयरका उम्मेदवार गोविन्द कँडेल

Banner

चितवन, वैशाख १४-

एमालेले राप्ती नगरपालिकाबाट मेयरमा गोविन्दप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेपछि अहिले घरदैलोमा जुटेका छन् ।

२४ वर्षको उमेरबाट राजनीति क्षेत्रमा लागेका कँडेललाई यसपटक एमाले बागमती प्रदेशले राप्तीको मेयरमा चयन गरेको हो ।

एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् चितवन क्षेत्र नम्बर १ प्रदेश ‘क’ का इन्चार्ज ६७ वर्षीय कँडेलले विसं २०३६ सालमा विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीति सुरु गरेका हुन् । त्यस्तै विसं २०३८ सालबाट भने सक्रिय रुपमा अखिल नेपाल किसान संघ नेकपा मानन्धर समूहबाट राजनीतिमा लागेका थिए ।

विसं २०१२ सालमा बागलुङमा जन्मिएका कँडेलले विसं २०३८ सालमा जनवर्गीय युवक संगठनमा सदस्यता लिएका थिए । उनी गाउँ पञ्चायत युवक संगठनको सभापति समेत भएका थिए । त्यतिबेला पञ्चायत भित्र छिरेर पञ्चायतकै विरोध गर्ने केन्द्रको निर्णय रहेको थियो । उनका बुबा दयाराम कँडेल पनि बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न सक्रिय रहेका थिए । दयाराम कँडेलकै अध्यक्षतामा गाउँमा स्कुल स्थापना भएको थियो र गोविन्दप्रसादले त्यही आफ्नो अक्षराम्भ गरेका थिए । उनले सधैँ आफ्नोे बुबालाई नै सामाजिक क्षेत्रको प्रेरणाको रुपमा लिए ।

विसं २०४२ सालमा तत्कालीन नेकपा मालेकी सीता पौडेलको प्रेरणाले कँडेल मालेमा संगठित भई सक्रिय भएका थिए । विसं २०४३ सालमा राष्ट्रिय पञ्चायतमा चितवनबाट जनपक्षीय उम्मेदवारलाई जिताउन उनले महत्वपूर्ण भूमिका खेले । उक्त समय पञ्चायत व्यवस्था फाल्ने र बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्ने पार्टीको सिद्धान्त रहेको थियो । विसं २०४६ फागुन ७ गते नारायणगढको सहिद चोकमा पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा उनले आफ्नो माइलो भाई बलराम कँडेललाई गुमाएका हुन् ।

सो समय उनी नेकपा माले वीरेन्द्रनगर गाउँ कमिटी सदस्य थिए । चैत २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछि विसं २०४७ वैशाखमा उनले गाउँ कमिटीको सचिवको जिम्मेवार प्राप्त गरे । त्यस लगतै इलाका कमिटी सचिव, क्रमिक रुपमा क्षेत्रीय कमिटी सदस्य, सचिव, अध्यक्ष, जिल्ला कमिटी सदस्य बन्न उनी सफल भएका हुन् । उनी विसं २०६४ सालमा क्षेत्र नम्बर १ का इन्चार्ज एवम् चितवन जिल्ला कमिटी सचिवालय सदस्य रहेका थिए । नारायणी अञ्चलबाट एमालेले २ सिट चुनाव जितेको थियो जसमा यस क्षेत्र पनि एक रहेको थियो ।

विसं २०५० सालमा तत्कालीन वीरेन्द्रनगर गाविसले क्याम्पस खोल्ने निर्णय ग¥यो र गाउँसभाबाट पास भयोे । सर्वदलीय बैठकले कँडेलको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । त्यसबेला सप्तगण्डकी क्याम्पसको शाखाको रुपमा क्याम्पस सुरु गरिएको थियो । विसं २०५३ सालमा उनले घरजग्गा र राइस मिल धितो राखेर त्रिभुवन विश्वविद्यालयमा रकम डिपोजिट गरी जन आदर्शको नाममा क्याम्पसले स्वीकृत प्राप्त ग¥यो । कँडेल आजको मितिसम्म पनि क्याम्पस सञ्चालक समितिमा रहेका छन् । एक कार्यकाल उपाध्यक्ष रहेका उनी समितिको हरेक कार्यकालमा अध्यक्ष पदमा रहेका छन् । त्यस्तै विसं २०५४ सालमा उनी चितवन जिल्ला विकास समितिको सदस्य निर्वाचित भएका थिए । अहिले उनको निरन्तरको मेहनत, परिपक्कता, पार्टीमा खटाइ र बलियो जनसम्पर्क नै उनका प्रतिस्पर्धी उम्मेदवारहरुलाई चुनौतीको पहाड बनेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>