चितवन विशेष
रत्ननगरका जनप्रतिनिधिलाई सम्मान

चितवन, वैशाख १०–
रत्ननगर नगरपालिकाले शनिबार आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यालयले कार्यक्रमको आयोजना गरी पाँच वर्षे कार्यकाल पुरा गरी विदाई हुन लागेका मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकालमा नगर विकासको लागि गरेका कामहरुको समीक्षा समेत गरेका छन् । उनीहरुले पाँच वर्षको अवधिमा रत्ननगरमा आकासे पुल, सौराहामा सभाहल, रत्ननगर अस्पातालको स्तर उन्नती जस्ता गौरवको योजना निर्माण गर्न सफल भएको भन्दै कार्यप्रगति सन्तोषजनक रहेको निश्कर्ष निकालेका छन् । झुवानीमा वाटरकिङम निर्माण सुरु हुनु पर्यटन विकासको महत्वपूर्ण आधार तयार भएको भन्दै उनीहरुले होम स्टे सहितको इकोपार्क निर्माण गरी ग्रामीण क्षेत्रमा पर्यटन विकास गरिएको बताएका छन् ।
कार्यक्रममा मेयर नारायण वनले पाँच वर्षको अबधिमा जनताको हितका लागि काम गर्न आफु सफल भएको बताए । वित्तिय साक्षरताको हिसावले नगरपालिकालाई देशभरकै १८ स्थानमा पार्न सफल भएको भन्दै उनले बेरुजुको विषयमा बाहिर गएका हल्लाहरु निराधार रहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्याय सम्पादन,राजश्व संकलन तथा विकास निर्माणको गुणस्तरीयता कायम राख्ने विषयमा नगरपालिका कहिकतै नचुकेको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडाध्यक्षहरु तिलकराज शर्मा, गुप्तनाथ भट्टराई, बलराम दाहाल, राजन भट्ट, विनोद बस्नेत, शशीभक्त न्यौपाने, विरबहादुर पाख्रिन, हेमराज थापासहित कार्यपालिका सदस्य तथा वडासदस्यहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
























