Breaking News
चितवनमा स्थानीय निर्वाचनः अशक्त मतदातालाई सधै निर्वाचनमा सकस

प्रतिमा कुमाल
चितवन, वैशाख १०-
लोकतान्त्रिक पद्धतिमा मतदान गर्न पाउनु हरेक नागरिकको संवैधानिक अधिकार हो । यो अधिकार कसैले खोस्न मिल्दैन । निर्वाचन आयोगलाई पनि यस किसिमको अधिकार छैन । तर, जब निर्वाचन आउँछ, तब फरक क्षमताका व्यक्ति अर्थात् अपाङ्गताभएका तथा ज्येष्ठ नागरिकहरुको मतदान केन्द्रसम्म पहुँच पुग्दैन । मतदाताअनुसारको केन्द्र तथा मत पत्र यहाँ व्यवस्था हुन सकेको छैन ।
विभिन्न प्रकारका अपाङ्गता भएका मानिसले भोट हाल्न जान सक्ने वातावरण नै बन्न नसकेको अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठ बताउँछन् । निर्वाचन आयोगले उनीहरुलाई मतदानमा कस्तो समस्या छ भन्ने विषय उठान नगरेको उनले गुनासो गरे । उनले भने ‘नेत्रहिन, बहिरालगायत विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरुको पहुँचमा निर्वाचन आयोगले मतदान गर्ने व्यवस्था गर्नुपर्छ । यसो गरे मात्र अपाङ्गता भएकाहरुको मत सुनिश्चित हुन्छ । उनीहरुले आफूले चाहेको ठाउँमा भोट दिन पाउछन् । तर, निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई मतदानमा केके समस्या छ भनेर आउनपर्ने हो अहिलेसम्म आएको छैन ।’
मतदान केन्द्रसम्म जान आफूहरुलाई गाहे हुने गरेको श्रेष्ठले बताए । विभिन्न पार्टीले साधनको व्यवस्था गरे मेरै पार्टीमा भोट हाल्नुपर्छ भन्ने जस्तो दबाब दिने गरेको उनको भनाइ छ । प्रत्येक पाँच वर्षको अन्तरालमा हुने निर्वाचनमा अपाङ्गता मैत्री मतदान केन्द्रको विषयमा श्रेष्ठले आवाज उठाउँदै आएको जीकिर गरे । उभिएर नेताहरुको कानमा आवाज लगाउने शारीरिक अवस्था नभएपछि माग दबिएको उनले बताए । आफूहरुको भोट जनप्रतिनिधिलाई चुनाव जिताउने भ¥याङ मात्र बनेको उनको विचार थियो । चुनाव जिते पछि अपाङ्गमैत्री काममा कसैले चासो नदेखाएको गुनासो गरे ।
उनले भने, ‘भरतपुर महानगरकै विकास निर्माण हेर्नुस कही जानै पर्दैन । भौतिक संरचना बन्दै गएको छ । तर, त्यो अपाङ्गतामैत्री छैन् । सार्वजनकि शौचालय, स्कुल कलेज अस्पताल, सडकपेटी, विद्यालय, खेलकुद मैदानलगायत सरकारी कार्यालय समेत हाम्रो पहुँचमा छैनन् । श्रेष्ठले संगठन तथा समितिमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश नगरिएको जीकिर गरे ।’
यस्तै नेत्रहिन संघ चितवनका सचिव सागर चौधरीले निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने बताएका छन् । व्यक्ति पिछे पार्टी प्रति फरक आस्था हुने हुदा नेत्रहिनहरुका लागि भोटिङ्ग मेसिन उपयोगी हुने उनको भनाइ थियो । उनले भने, ‘भोट दिन जादा घरका आमाबुबा, दाईभाइ, दिदी बहिनीसँग जान्छौं । तर, विश्वास गर्ने वातावरण हुदैन । व्यक्ति पिच्छे फरक आस्था र धारणा हुन्छ ।’ चौधरीले विद्युतीय भोटिङ मेसिन भए यो समस्या समाधान हुने विचार राखे ।
माडीकी पार्वती महतोले निर्वाचन कार्यालयले निर्वाह गर्नुपर्ने भूमिका पूरा नगरेकोले अहिलेसम्म भोट नहालेको बताए । शारीरिक रुपमा अशक्त ३८ वर्षीय महतोको भोट लिस्टमै नाम छैन । निर्वाचन कार्यालयको लापरबाहीले अहिलेसम्म भोट हाल्न नपाए पनि कुनै दुःखेसो नरहेको उनको भनाइ छ । सबै तहमा गएर अपाङ्गताका लागि सुरक्षा समावेशिता, प्रतिनिधित्व, विकास मागेका छौं । कुनै पूरा भएको छैन् । त्यसकारण कुनै दुःख छैन’, उनले भनिन् । तर, पनि अहिलेको चुनावका लागि उनी भोटलिस्ट कुर्दै छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानले ३० लाख ज्येष्ठ नागरिकको मतको व्यवस्ता भएको बताए । यति ठूलो संख्यामा रहेका ज्येष्ठ व्यक्तिहरुलाई चुनावी घोषणा पत्रमा मात्र राजनीतिक दलले सम्झने गरेको उनको भनाइ थियो । मतदान स्थल ज्येष्ठ नागरिक मैत्री नभएको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय चितवन सूचना अधिकारी अमबहादुर पुर्जाले चितवनको सम्पूर्ण मतदान केन्द्रहरु अपाङ्गता तथा जेष्ठनागरिक मैत्री हुने जीकिर गरेका छन् । तोकिएको १६१ केन्द्रमा स्वयमसेवकको समेत व्यवस्था भएको उनले बताए ।
तर, उनीहरुलाई ल्याउने लाने व्यवस्था भने निर्वाचन कार्यालयले नगरेको पुर्जाले जानकारी दिए । मतदातालाई पार्टीगत दबाब पर्न नदिन अपाङ्गता तथा जेष्ठ नागरिकलाई ल्याउने लाने जिम्मेवारी कार्यालयले लिनुपर्ने आवश्यक देखिएको उनले बताए ।
नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म शम्शेरले २००४ जेठ ३ गते गराएका थिए । यस अगाडि कुनै निर्वाचनको अनुभव नेपालले गरेको थिएन । यो समय महिलालाई मतदानको अधिकार थिएन । समयसँगै यो व्यवस्था खारेज भयो । तर, अपाङ्ग र ज्येष्ठ नागरिकको समस्या भने हिजोदेखि आजसम्म समस्याकैरुपमा रहेको छ ।
























