चितवन विशेष
ज्येष्ठ नागरिक संघ चितवनद्वारा १४ असल सन्तान सम्मानित

चितवन, वैशाख ८–
ज्येष्ठ नागरिक संघ चितवनले जिल्लाका १४ जनालाई असल सन्तानको रुपमा सम्मान गरेको छ ।
संघ चितवनको दोस्रो वार्षिक साधारणसभाको अवसरमा चितवनका सात पालिकाका २—२ जना गरी १४ जनालाई सम्मान गरिएको हो । उनीहरुलाई असल सन्तानको भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको संघले जनाएको छ ।
कार्यक्रममा संघकै केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधानले राजनीतिक पार्टीहरुका कारण ज्येष्ठ नागरिक टुक्रा–टुक्रामा विभाजन भएको दुःख व्यक्त गरे । पार्टीगत रुपमा ज्येष्ठ नागरिक संगठन खोलेर निरुत्साहित गरेको उनको आरोप थियो ।
सबै ज्येष्ठ नागरिक एक ढिक्का हुनुपर्नेमा प्रधानको जोड छ । यसो नभए आफूहरुको पक्षमा कोही नबोल्ने उनले जीकिर गरे । स्थानीय चुनावमा ज्येष्ठ नागरिकको पक्षमा हरेक पार्टीले बोल्नुपर्ने योजना ल्याउनु पर्ने उनको विचार थियो । अध्यक्ष प्रधानले परिवारबाट आमा बुबा बाहिरिएको गुनासो गरे । अहिलेका पुस्तामा परिवार भनेको छोरा छोरी र श्रीमान् श्रीमती मात्र रहेको सोचको विकास भएको बताए ।
भूमि सुधार आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सन्तानलाई जुन संस्कारले हुर्काइन्छ त्यही नै व्यवहारमा देखिने बताए । वृद्ध आश्रम बढ्दै जानु, बेसाहारा हुनुको मुख्य कारण संस्कार रहेको उनको भनाइ थियो । उनले भने, ‘धतुरो रोपेर आँप उम्रदैन त्यसकारण सँस्कार नदिए सँस्कारी जन्मदैन ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो कार्यकालभरी ज्येष्ठ नागरिकहरुको क्षेत्रमा धेरै काम गरेको स्मरण गरिन् । उनले भरतपुर अस्पतालमा ज्येष्ठ नागरिकलगायत शारीरिक रुपमा असक्त मानिसहरुको लागि ओपीडी सेवा निःशुल्क गरेको बताइन् । भावी दिनहरुमा पनि अवसर मिले अझै यस्ता कामहरु गर्ने उनले प्रतिबद्धता गरेकी छन् ।
भरतपुर १० का वडाध्यक्ष, महानगरका प्रवक्ता तथा ज्येष्ठ नागकि र संघ चितवनका आजिवन सदस्य अरुणपीडित भण्डारीले प्रत्येक वर्ष आफ्नो वडाबाट २ लाख संघलाई प्रदान गर्दे आएको जानकारी दिए । कार्यालयले ५ वर्षमा १० लाख दिएको बताए । ज्येष्ठ नागरिकको ज्ञान, सिप, कौसलता वृद्धि गर्ने र पुरस्कृत गर्ने काम वडाको समेत रहेको जीकिर गरे ।
भरतपुर महानगरका मेयरका उमेद्वार विजय सुवेदीले पश्चिमी सभ्यताका कारण देशमा मानवियता हराउँदै गएको बताएका छन् । ऐमालेबाट उमेद्वार सुवेदीले उनीहरुबाट विकासको ज्ञान लिदै मानवियता तर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष कृष्णलाल सापकोटाले हरेक सभासम्मेलनमा बृद्धवृद्धा समिटिनुपर्ने बताएका छन् । ‘जुन सभासम्मेलनमा वृद्ध हुदैन त्यो सभा हुदैन । जुन बृद्धमा विवेक हुदैन त्यो बृद्ध हुनै सक्दैन ।’, उनको भनाइ थियो ।

























