Breaking News

भरतपुर महानगरमा एमालेको तर्फबाट उपमेयरमा १० नेताको नाम सिफारिस

Banner

मधुसूदन दवाडी

चितवन, वैशाख ८-

नेकपा एमाले जिल्ला कमिटी चितवनले भरतपुर महानगरको उपमेयरमा १० जना नेताहरुको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

मेयरमा विजय सुवेदी उठ्ने निश्चित भएपछि उपमेयरमा आकांक्षी महिला नेताहरुको नाम प्रदेशमा पठाएको हो । प्रदेश कमिटीले १० जना मध्येबाट छानेर सूची बनाई केन्द्रीय कमिटीमा पठाएपछि पार्टीको हाईकमाण्डले उपमेयरको नाम छनोट गर्नेछ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जनाएअनुसार उपमेयरको नाम सिफारिस गर्दा भरतपुरका पुराना र नयाँ महिला नेतृहरुको नाम सिफारिस गरिएको छ । जसमा शारदा कुमाल, दिव्या आचार्य, गीता श्रेष्ठ, शान्ति अधिकारी, अन्जना गौतम, सुनिता अधिकारी, मुना श्रेष्ठ, सीता पुन, निशा अधिकारी र विष्णुमाया भण्डारी रहेका छन् ।

भरतपुर महानगरपालिका–११ की शारदा कुमाल पहिलो संविधानसभाकी सदस्य हुन् भने भरतपुरको पार्वतीपुरकी दिब्या अचार्य पार्टीबाट २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयरको उम्मेदवार हुन् । त्यसैगरी भरतपुर महानगरपालिका–१ की गीता श्रेष्ठ यसअघिको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका १ को वडा अध्यक्षमा १४ भोटले पराजित भएकी थिइन् ।

उपमेयरकी आकांक्षी शान्ति अधिकारी नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् । उनी २०५२ सालबाट पार्टी राजनीतिमा सक्रिय भएकी हुन् । २०५८ सालबाट पार्टीको संगठित सदस्यता लिएकी अधिकारी सहकारी र सामाजिक विभागमा सक्रिय रहँदै आएकी छन् ।

भरतपुरको जगतपुरकी अन्जना गौतम अखिल नेपाल महिला संघ जिल्ला कमिटीकी सचिव हुन् । त्यस्तै उपमेयरकी आकांक्षी सुनिता अधिकारी भरतपुर महानगरपालिका–१० घर भई एमाले वाग्मती प्रदेश कमिटीकी सदस्य हुन् । जिल्ला समन्वय समितिकी उपप्रमुख मुना श्रेष्ठ पनि एमालेको तर्फबाट भरतपुरको उपप्रमुखमा सिफारिस भएकी छन् । उनको स्थायी ठेगना भरतपुर महानगरपालिका–५ मा पर्छ । पश्चिम चितवनकी सीता पुन जिल्ला समन्वय समिति चितवनकी सदस्य हुन् ।

विद्यार्थी राजनीतिबाट अगाडि आएकी निशा अधिकारी एमाले महानगर कमिटीकी उपसचिव हुन् । भरतपुर महानगरपालिका–२४ शुक्रनगरकी अधिकारी अहिले पनि अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष हुन् । २०६४ सालबाट पार्टीमा संगठित भएकी उनी भरतपुरको मैयादेवी क्याम्पसमा स्ववियु सभापति हुँदै अनेरास्ववियुको राजनीतिमा अगाडि बढेकी थिइन् । त्यस्तै विष्णुमाया भण्डारी अखिल नेपाल महिला संघ जिल्ला कमिटीमा सक्रिय रहेकी छन् । उनी भरतपुर महानगरपालिका–८ गौरीगञ्जको स्थायी बासिन्दा हुन् ।

एमालेले उपमेयर पद राप्रपालाई दिने भन्ने हल्ला चले पनि यसबारे खासै छलफल नभएको एमाले चितवनले स्पष्ट पारेको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘कहाँ, कोसँग समझदारी गर्ने भन्ने विषय केन्द्रले निर्धारण गर्छ । चितवनमा यसबारे कुनै छलफल भएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>