Breaking News
भरतपुरमा वातावरण संरक्षणसम्बन्धी वृहत् प्रदर्शनी, मिलन सचेतना केन्द्र पहिलो

प्रतिमा कुमाल
चितवन, वैशाख ६–
भरतपुर महानगरपालिले वातावरण संरक्षण र फोहर–मैला व्यवस्थापन सम्बन्धी नारायणगढमा बृहत प्रदर्शनी तथा अन्तरक्रिया गरेको छ ।
घरबाट निस्कने जैविक तथा अजैविक फोहरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिन प्रदर्शनी गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवन कार्यालय परिसरभित्र भएको प्रदर्शनीमा विभिन्न आमा समूह, टोलविकास संस्थाहरुले फोहरबाट बनेका सामग्रीहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा भान्साबाट निस्कने प्लास्टिकबाट बनाइएका चकटी, मेकपका समग्री राख्ने व्याग, पर्स, झोला, किरिङ, फूलदानी, फालिएका टाएरबाट बनाईएका कुर्ची, घडी, कारपेटबाट बनाइएका गमला, बोतलका गमलालगायत राखिएको थियो । साथै कुहिने फोहरको व्यवस्थापना कसरी गर्ने, मल कसरी बनाउने जस्ता कुराहरु राखिएको थियो ।
यस प्रदर्शनीमा सहभागी मध्ये पाँच समूहलाई भरतपुर महानगरपालिकाले पुरस्कृत समेत गरेको छ । जसमा पहिलो हुनेमा मिलन सचेतना केन्द्र, दोस्रो हुनेमा आनन्द अभिभावक आश्रम, तेस्रो हुनेमा स्याउली बजारका बाबुराम कँडेल, सान्त्वना हुनेमा महाकालेश्वर टोल विकास संस्था र भरतपुर ११ का निल गिरी रहेका छन् । पुरस्कार स्वरुप उनीहरुले कोकोपिट, कुटो, कैची, कुरुस, हजारी पाएका छन् ।
‘मध्य नेपालकै सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर, मेरो फोहर मेरो जिम्मेवारी’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।
प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता तुलसी ज्ञवालीले घरबाट निस्कने अजैविक वस्तुहरुलाई हस्तकलाका सामग्री बनाउन सकिने बताइन् । १८ वर्षदेखि यस क्षेत्रमा लागेकी ज्ञवाली जैविक र अजैविक वस्तुको व्यवस्थापन गर्न सके रोगबाट बच्न सकिने जीकिर गरिन् । आफैनै खेतबाट तरकारी फलाएर खान कुनै गारो नभएको उनको भनाइ छ ।
वातावरणविद् दिपेश व्यन्जुले दिगो ठोस फोहोर व्यवस्थापन विषयमा बोलेका थिए । उनले सर्वप्रथम महानगरले फोहर उठाउने साधन कै व्यवस्थापन गर्नुपर्ने बताए । फोहर उठाउने बोक्ने साधननै फरक हुने उनको भनाइ थियो । व्यन्जुले घरबाट निस्किएका फोहरबाट बनाइएका वस्तुको बजारीकरणमा पनि सहयोग गर्ने बताए ।
भरतपुर महानगरकी मेयर रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उनले भरतपुरको फोहर व्यवस्थापन गर्नको लागि कोरियन कम्पनीसँग छलफल भइरहेको जानकारी दिइन् । कोरियामा कोरोनाको भय अझै रहेकाले काम अघि सार्न नसकिएको दाहालको भनाइ छ ।
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरलाई सुन्दर सफा र हरियाली बनाउनका लागि आफूहरु लागि परेको बताएकी छन् । घरको फोहर घरमै व्यवस्थापन गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको उनले जीकिर गरिन् । पलास्टिक व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद गजुरेलले फोहरको व्यवस्थापन घरबाटै गर्नुपर्ने कुरामा जोड दिएका छन् । घरमा व्यवस्थापन गर्न नसकिने फोहर रिकभरमा बिक्री गर्न आग्रह गरे ।
नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले पाप पखाल्न नदीमा डुबुल्की मार्नेहरुबाटै नदी किनार दूषित भएको गुनासो गरे । फोहर मैलो व्यवस्थापन गर्ने ठाउँ वा फाल्ने ठाउँ नदी किनार हुन नहुने उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पिडित भण्डारीले फोहर –फोहर नभई मोहर भएको जीकिर गरे । व्यक्तिगत श्रृंगारमा जति ध्यान दिइन्छ त्यतिनै परिवार, घर, छिमेक, गाउँलाई सुन्दर बनाउन अनुरोध गरे । प्रवक्ता भण्डारीले सबै पलास्टिक उद्योगहरु वातावरण संरक्षणको बाटोमा लाग्नुपर्ने बताएका छन् । सफा सहर हामी सबैको रहर रहेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हरेक व्यक्तिले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गरे मात्र स्वच्छ वातावरणको आकांक्षा पूरा हुने बताए । कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननाराण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

























