विचार/ब्लग

काल्पनिक दुनियाँमा भुलेका मान्छे

Banner

ललित बसेल

समयको चक्र नरोकिने नछेकिने कती शक्तिशाली छ यो । बालापनमा समयलाई नै रोक्दिने सोच ले घडीको सुई समातेर समय भन्दा बलवान भएको महसुस गर्ने हामी धेरै नै छौ होला । ध्रुवसत्य कुरालाई कसैले परिवर्तन गर्न सक्दैन । यो निरन्तर बगिरहन्छ । समयसँगसँगै मानवको विकासमा भएको परिवर्तन हामी सबैलाई अवगत नै छ ।

धेरै अगाडिको कुरा नगरी केही दशक अगाडिको कुरा गर्नु पर्दा अज भनांै अतितमा फर्केर हेर्नु पर्दा म के पाउँछु भने मानव सभ्यता धेरै अगाडि बढेको छ । टेलिभिजन भर्खर भर्खर नेपाली बजारमा आउँदा केही औलामा गन्न मिल्ने मानिसको घरमा टेलिभिजन हुने गर्दथ्यो । त्यसमाथि टेलेभिजन पनि हेर्न मिल्ने एउटा च्यानल नेपाल टेलिभिजन मात्र थियो । अझ दिउँसोमा त प्रसारण नै रोकिने गर्दथ्यो । मोबाइल र कम्प्युटर यिनीहरु त झन पछिका कुरा थिए । आफन्त जनलाई देख्न घरै आउन पर्ने गर्दथ्यो वा जानु पर्दथ्यो । पत्यक्ष सम्वादको त कुरै छोडाँै आफ्ना मुख्य मुख्य कुराहरु पत्रद्वारा नै जानकारी गराउन र प्रतिउत्तर कुराइमा नै महिनौ बित्ने गर्दथ्यो । विदेश हुने आफन्तजनको परिवारलाई श्री पशुपती नाथले रक्षा गरुन् भन्ने कुरा स्मरणमा कण्ठस्थ भय पनि ताजा भने आज भएको होला भने विश्वास लिने गरिन्थ्यो । एउटा चिट्ठीपत्रको हरेक शब्द शब्दबाट मन खुसी हुने गर्दथ्यो । त्यस चिट्ठीपत्र को मूल्य आजको बालबालिकाले महसुस पनि गर्न सक्दैनन् । त्यसका साथै स्वदेशमा हुने परिवार भित्रका सदस्यसँग समय ब्यतित गर्ने माध्यमहरु धेरै कम थिए । एक अर्काको कुरा सुनेर वा पारिवारिक छलफल गरेर वा खेतबारीमा काम गरेर नै समय ब्यतित हुने गर्दथ्यो । अझ भनौ मानिससँग धेरै विकल्पनै थिएन समय ब्यतित गर्ने । टेलिभिजन हेर्दा पनि सम्पूर्ण परिवार भेला भएर हेर्ने गर्दथे । यसले मानिसहरुमा समूहमा बस्न र एकजुट हुन मद्दत गर्दथ्यो । बालबालिकामा पनि मनोरञ्जन गर्ने माध्यम भनेका अनेकन किसिमका खेलकुद, जसले उनीहरुलाई शारीरिक एवम् मानसिक बलियो बनाउनका साथै समूहमा बसेर काम गर्ने कलाको विकास गर्न मद्दत गर्दथ्यो । जान्दा नजान्दै हामी व्यायाम गरिरहेको हामीलाई थाहा नै थिएन । स्वस्थ स्फूर्त शरीर बनाउन न त कुनै जुम्बा जानु पर्दथ्यो न जिमशाला नै । पुरानो जीवनशैलीका फाइदाहरुलाई त आजको विज्ञानले पनि मानेको छ । विज्ञानले आज जसरी आधुनिकीकरण तपÞर्m हाम्रो समाज र देशलाई लगेको छ । त्यो कल्पना बाहिरको कुरा छ ।

विकासको क्रमिक गतिसँगै दूरसञ्चारको छेत्रमा पनि मानवले आफ्ना कदम धैरे अगाडि बढाइसकेका छन् । सुरुवात भने अलेक्जेन्डर ग्रामबेलले सन् १८७६ मा टेलिफोनको आविष्कार गरेर सनसनी मच्चाइदियो । क्रमिकरुपमा बिकास हुदै सन् १९७३ मा मोटोरोला कम्पनीले पहिलो सेलुलर फोन विकास गरेसँगै आधुनिक दूरसञ्चारको क्षेत्रमा नयाँ आयाम थप्न मद्दत पुगेको थियो । यसपछि परिमार्जनसँगै आजको युगमा प्रयोग हुने मोबाइल फोनहरुको विकास भएको छ । दूरसञ्चारको क्षेत्रमा भएको प्रगतिले आज विश्वलाई नै एउटा सानो गाउँमा सिमित बनाइदिएको छ । आज विश्वको जुनसुकै कुनामा मान्छे किन नहोस् प्रत्यक्ष हेरेर संवाद गर्न सकिन्छ । यति गर्दागर्दै पनि संसारकै मान्छे नजिक देख्न पाइए पनि नजिकका मान्छे भने टाँडा भाको हामीले पत्तै पाएनौं । सात समुन्द्र पारीको साथीभाई वा आफन्तसँग हामी दैनिक जसो कुरा गर्ने गर्छौै तर नजिक हुनेहरु भने एक आपसमा छलफल वा दुःखसुखको कुरा सबै छुटिसकेका छन् । टाढा रहेकालाई नजिक त बनायो यो आधुनिक प्रविधिले तर नजिककालाई टाढा बनायो । आज मानिस एक मिनेट पनि मोबाइलबाट अलग बस्न सक्दैनन् । खाना खाने बेला, मिटिङको बेला, घुम्न गएको बेला, सुत्ने बेला, साथीसँग गफ गर्ने बेला, खाजा खाने बेला, ट्वाइलेट जाने बेला जुनसुकै बेला मोबाइल हेर्न पछि पर्दैनन् । सबै मान्छे काल्पनिक दुनियाँमा रमाएका छन् । कसैले कुन नोटिफिकेसन बज्छ अनि मोबाइल हेरी हाल्न मन लाग्छ । चाए त्यो आवश्यक होस् या नहोस् हेर्न जरूरी नै छ मानौ कि हेरेन भने कुनै ठूलै परियोजना नै फुत्किन्छ । अझ कहिलेकाहीँ त केही नआउँदा पनि मोबाइल भाइब्रेसन गरे जस्तो लागेर दिनमा ७–८ पटक हेर्ने हामी मध्ये धेरै नै छौ होला । अहिले केही दशक यता विकसित भएका सामाजिक सञ्जालले मानिसलाई यसरी बेरेको छ जसरी कुनै माकुराले थापेको पासोमा परेको शीकार हुँदै कोसिस गर्दा पनि फुत्किन सक्दैन । सामाजिक सञ्जालको विकासको कुरा गर्ने हो भने यसको विकास भएको धेरै समय भएको छैन तर जसरी यो फैलिएको छ यो भने अकल्पनीय छ । सन् २०२१ जुलाईको तथ्यांकले हाल सामाजिक सञ्जाल प्रयोकर्ताको संख्या ४.४८ बिलियन रहेको छ भने हरेक वर्ष यसको वृद्धिदर ९.२% रहेको छ । एउटा व्यक्तिले औसत समय दुई घण्टा २४ मिनेट सामाजिक सञ्जालमा व्यतित गर्ने गरेको पाइन्छ । सबै भन्दा बढी प्रयोगकर्ता भएको कम्पनी फेसबुक हो । जसका २.९ बिलियन प्रयोगकर्ता रहेका छन् ।

त्यसैगरी अनलाइन गेमको कुरा गर्ने हो भने बजार मा पब्जीले मार्केट कब्जा नै गरेको छ । काल्पनिक दुनियामा ‘विनर विनर चिकेन डिनर’ अर्थात् जित हासिल गर्न, आजका बालबालिका एवम् युवा पुस्ता मरिहत्ते नै गर्ने गरेका छन् । काल्पनिक दुनियाँमा डुबेर जितेर चिकेन डिनर गर्नु उपलब्धि मान्छन् । वास्तविक रुपमा खेलिने खेलहरु को बारेमा नयाा पुस्तालाई ज्ञान नै छैन । जस्तो रुमाल लुकाई, खोखो, गेम बल, चोर पोलिस, डन्डी बियो, कब्बडी यस्ता अनेकन खेलकुद जसले शारीरिक साथै मानसिक तन्दुरुस्ती दिन्छन् । अहिलेका बालबालिकाले अनुभव नि गर्न पाएका छैनन् । यसै सन्दर्भमा केही प्रतिनिधि घटनाहरु जस्तै छिमेकी मुलुक भारतमा एक जना किशोरले लकडाउनको बेलामा एक दिन भर पब्जीखेली एक घुट्को पनि पानी नखाई गेम खेल्नाले डिहाइड्रेसनको कारण ले बिरामी भै अस्पताल लैजादा उसको पछि मृत्यु हुन पुग्यो । तेस्तै पन्जाबको एउटा सामान्य परिवारको किशोरले पब्जीमा सिक्काहरु खरिद गर्न आफ्नो बुवाको बैंक खाताबाट १६ लाख बिना अनुमति खर्चिएका थिए पछि उसको बुवाले बैंक स्टेटमेन्ट हेरिसकेपछि थाहा पाए । तेस्तै क्यालिफोर्निया अमेरिकाको एउटा परिवारले बिदा मनाउन घरबाट टाढा लसभेगास जाने प्लान बनाउँछन र उनीहरु तेस तपÞर्m लाग्छन् । अति उत्साहले गर्दा उनीहरुको एक छोरीले फेसबुकमा जानकारी सेयर गर्छिन् । जुन जानकारी उसका साथीहरुले फेसबुकद्वारा प्राप्त गर्छन र घरमा चोरी गर्ने योजना बनाउँछन र सफलता पनि प्राप्त गर्छन् । तर, केही समयपछि उनीहरु समातिन्छन् र यो डरलाग्दो रहस्य बाहिर आउँछ । यस्ता अनेकन घटनाहरु छन् जुन बारे हामीले सोच्न जरूरी छ । सानो सानो बच्चाहरुलाई रोको बेलामा होस् या आफूलाई केही काम गर्न परेको बेला होस् भुलाउने सजिलो उपाए भनेको अहिलेको बच्चालाई मोबाइलमा कार्टून लगाइदिए पुग्छ । बच्चा पनि मस्त भुल्छ जे दिए नि खान्छ, रुँदा पनि रुँदैन अभिभावकलाई पनि केही समय आराम मिल्छ तर दीर्घकालिन प्रभावबारे कैले सोचेका हुदैनन् । आज बच्चैबाट लगाइदिएको बानी झन् बच्चा ठूलो हँुदै जादा कस्तो बन्ला ? कलिलो मानसिकता मा मोबाइल प्रतिको आकर्षण ठूलो हँुदै जादा झन् कति जकडिँदै जाला । मोबाइल फोन होस् वा इन्टरनेट हामीभन्दा राम्रो तरिकाले बालबालिकाले प्रयोग गर्न जानिसकेका छन् । के बच्चा के युवा के वृद्ध सबै जनालाई यो मोबाइलले बाधेको छ ।

यसै सन्दर्भमा एउटा स्कुल बेलाको पाठ याद आउछ सायद त्यो बेला टेलिभिजनलाई ब्यङ्ग्य हानेको हुनसक्छ । एउटा अति नै रमाइलो खुसियाली भएको गाउँ हुने गर्छ । तेस गाउँमा सबै जना धेरै मेलमिलाप अनि आपसमा समय व्यतित गर्ने गर्छन् । उनीहरु एकपटक डुंगामा यात्रा गरिरहेका हुन्छन् अनि उनीहरुले एउटा चम्किलो पत्थर भेट्छन त्यो पत्थर यति सुन्दर अनि चम्किलो हुन्छ कि सबै जना तेसलाई हेरेर बस्दछन । मानौ कि त्यो पत्थर ले उनीहरुलाई मोहित नै गरे जसरी उनीहरु एकाग्र भएर हेरेर मात्र बस्छन् । अनि उनीहरु अरु सबै काम गर्न भुल्छन न अब त्यहाँ गफगाफ हुन्छ न बालबालिका खेलकुद खेल्छन जसलाई त्यो पत्थरले ठप्प बनाइ दिन्छ । अब चम्किलो पत्थरलाई मोबाइल फोनसँग दाजेर हेरौ र साँेचौ कतै यो पनि तेही चम्किलो पत्थर त होइन जसले हामीलाई भुलाइरहेको छ । जसरी तीव्ररुपले अहिले हात हातमा मोबाइल पुगिरहेको छ यसले सहजता सँगसँगै चुनौती थपिदिएको छ । अहिले त झन् टिकटकले मान्छेलाई यसरी भुलाएको छ कि महत्वपूर्ण समय व्यतित भएको कसैलाई महसुस नै छैन सबै जना मस्त छन् ।

महिला पुरुष सबै जना यिनै जस्ता सामाजिक सञ्जालमा डुबेका छन् न परिवारको मतलब न समाजको न देशको छ । मानिस त्यही काल्पनिक दुनिया जहाँ लाइक र फलोको पछि दगुरेको छ । यस्ता सामाजिक सञ्जालमा हालिने पोस्टहरुले हामीलाई अरु भन्दा कम भएको, आफू भन्दा अरुको जीवन खुसी र रमाइलो रहेको महसुस गराउँछ । हामी भन्दा राम्रो लाको खाको महसुस गराउँछ । यस्ता भावना कुन बेला डिप्रेसनमा परिणत हुन्छ पत्तै हुदैन । त्यसका साथै साइबर बुलिङले पनि कति मानिस भित्र भित्र डिप्रेसन मा गइरहेका छन् । एउटा सर्वेक्षणका अनुसार धेरै समय सामाजिक सञ्जालमा समय बिताउने ब्यक्ति को एक्लो पना घट्नुको सट्टा झन् बढेको हुन्छ । गृहणीलाई, जागिरेलाई, ब्यापारीलाई, विद्यार्थीलाई होस् हरेकलाई आफ्नो काममा एकचित्त भएर लाग्न बाधा पुगिरहेको छ । अब आउने दिनहरुमा यो अवस्था झनै बढ्दै जाने छ र चाडै जाड रक्सी, ड्रक्स मात्र छुटाउने केन्द्र होइन मोबाइल वा इन्टरनेटको नशा छुटाउने केन्द्रहरु पनि खोल्नु पर्ने अवस्था आउने छ । यी त केवल मानसिक समस्या भए आँखा बिगार्ने , निद्र नलाग्ने, ब्रेनमा समस्यालगायत अनेकन शारीरिक समस्या निम्ताएको छ । गाडी चलाउदा होस् या बाटो हिड्दा मोबाइलमा ध्यान दिनाले दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यति भनिरहदा अब हामीले विचार गर्नु पर्ने कुरा के छ भने के हामी यो मोबाइल फोन या इन्टरनेट बिना बस्न सक्छौ ? सक्दैनौ किनकी यसको प्रयोग हाम्रो दैनिक जीवनमा आवश्यक नै छ कति महत्वपूर्ण कामहरु हामी यसको प्रयोग ले गर्न सक्छौं । अनेकन विशेषतालाई हामी नकार्न सक्दैनौ, अब विकल्प के छ ? सीमा निर्धारण गर्ने हो । मोबाइल फोनमा स्क्रिन समय निर्धारण गर्ने आफूले कति प्रयोग गरेको छ हरेक हप्ता हप्तामा परीक्षण गर्ने , सुत्ने बेलामा बेडमा मोबाइल फोन नलैजाने , आवश्यक नहुँदा इन्टरनेट बन्द गरिदिने, साथीभाई इस्ट मित्रसँग बढी समय बिताउने, किताब पढ्ने बानीको विकास गर्ने, फुर्सदको समयमा घुम्न जाने, अनलाइन गेम भन्दा अफलाइन गमे खेल्ने ।

बालबालिकाहरुलाई हाम्रो धर्म संस्कृति बारेमा ज्ञान दिनुपर्छ । उनीहरुलाई त्यससम्बन्धी सामग्रीहरु सुनाउने वा देखाउने गरौं । सायद अहिलेका बालबालिकाले जटायु, सुग्रिव, सुपर्णखा यिनीहरुको नाम पनि सुनेका छैनन् । तसर्थ अभिभावकले नेतृत्वदायी महत्वपूर्ण भूमिका खेल्नु जरूरी छ । नत्र अबको पुस्तालाई यो दलदलबाट अरु कसैले जोगाउन सक्दैन । सुन्दा सामान्य लाग्ने तर प्रभाव सायद यति ठूलो छ हामी कसैले परिकल्पना गर्न सक्दैनौं । यसबारे सोच्न जरूरी छ । काल्पनिक संसारबाट जति सकिन्छ टाढा बसौं र यसको सदुपयोग गरौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>