बजार

फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु,छैन सरकारी अनुगमन

Banner

काठमाडौं,बैशाख ६-

फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत मुलुक भारतमा भएको मूल्य वृद्धिको हात रहेको व्यवसायी बताउँछन् । इन्धनको मूल्यले गर्दा ढुवानी भाडा पनि अकाशिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महीनामा केरा, स्याउ, मेवा, खर्बुजा, अंगुर र सुन्तलालगायत फलफूलको मूल्य ह्वात्तै बढेको छ । महीना अघिसम्म सय रुपैयाँ दर्जनमा पाइने केरालाई अचेल २ सय रुपैयाँ पर्न थालेको छ ।

२ सय ५० रुपैयाँ किलोमा पाइने फुजी स्याउको मूल्य थोक बजारमै प्रतिकिलो २ सय ७५ रुपैयाँसम्म पुगेको छ । यसको खुद्रा मूल्य ३ सय ५० देखि ३ सय ८० रुपैयाँसम्म छ । त्यसैगरी, १ सय ९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको थोक मूल्य २ सय २० रुपैयाँ छ । खुद्रा बजारमा व्यवसायीले आफूखुशी २ सय ५० देखि २८० रुपैयाँसम्म लिन्छन् । महीनाअघि सय रुपैयाँ किलो रहेको हरियो अंगुरको मूल्य अहिले १ सय ४५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै कागतीको मूल्य बढेको छ । १ महीनाअघि किलोको २ सय ५० रहेको कागतीको थोक मूल्य अहिले ३ सय २५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा त ५ सय रुपैयाँसम्म तिर्नु परेको उपभोक्ताको गुनासो छ । भारतबाट कागती आयात गर्दै आएका व्यवसायी हरीश शर्माले गर्मी बढेसँगै भारतीय बजारमा कागतीको माग बढेको तर उत्पादन घटेकाले उतै बढी तिर्नु परेको बताए । कागतीे आयात घटेपछि मूल्य बढेको उनी बताउँछन् । ‘ढुवानी भाडाले मूल्य बढेकै थियो, त्यसमाथि उतैबाट बढेर आयो,’ शर्माले भने । आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>