अर्थ

चितवनमा चैत महिनामा लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन

Banner

चितवन,बैशाख ६-

चालू आर्थिक वर्ष २०७८/७९ को चैतमा चितवनस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार विभागले चैतका लागि २ अर्ब २४ करोडभन्दा केही बढीको लक्ष्य दिएकामा १ अर्ब ८० करोड रुपैयाँभन्दा केही बढी संकलन भएको छ ।

स्वास्थ्य सेवा करबाहेक अन्य कुनै पनि शीर्षकमा कार्यालयले लक्ष्य भेटेको छैन । स्वास्थ्य सेवा कर शीर्षकमा चैतको लक्ष्य २४ लाख १६ हजार रहेकामा २७ लाख ७ हजार रुपैयाँ संकलन भएको छ ।

कार्यालयका अनुुसार सबैभन्दा बढी राजस्व अन्तस्शुल्क शीर्षकमा उठेको छ । शिक्षा सेवा कर शीर्षकमा राजस्व असुली भएको छैन । चैतमा १ अर्ब ४० करोड अन्तस्शुल्क उठेको छ । यो शीर्षकमा १ अर्ब ६३ करोड उठाउने लक्ष्य थियो ।

शिक्षा सेवा करमा विभागले ४ लाख ६७ हजार रुपैयाँको लक्ष्य दिएको थियो । यस्तै, आयकर शीर्षकमा ३७ करोड ९ लाख लक्ष्य रहेकोमा २५ करोड ९ लाख, बहालकरमा ६१ लाख ७८ हजार लक्ष्य रहेकामा ३५ लाख २६ हजार, ब्याजकरमा १ करोड ११ लाख लक्ष्यमा २६ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ । मूल्य अभिवृद्धिकर शीर्षकमा २१ करोड ८६ लाख लक्ष्यमा १३ करोड ७० लाख रुपैयाँ संकलन भएको छ ।

कार्यालयका कर अधिकृत सुशील लम्सालले देशभरका आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको बताए । ‘कच्चा पदार्थको मूल्य वृद्धि हुँदा फाइदा कम हुन्छ, आयकर पनि कम हुन्छ,’ उनले भने, ‘तरलता अभावको असर र सरकारी बजेट खर्च नभएको कारण पनि राजस्वमा असर पर्ने गर्छ ।’

भरतपुरको आन्तरिक राजस्व कार्यालयको मुख्य स्रोत मदिराजन्य वस्तु भएकोले यसको उत्पादन र खपत कम हुँदा समग्र असुलीमा असर पर्ने लम्सालले बताए । वैशाखदेखि चुनावी चहलपहलसँगै अन्य आर्थिक गतिविधि बढ्ने हुनाले राजस्व संकलन बढ्ने उनको भनाइ छ ।

कार्यालयका अनुसार विभागले चैतसम्मका लागि १५ अर्ब ३ करोडको लक्ष्य दिएकोमा हालसम्म १४ अर्ब ३० करोड संकलन भएको छ । चालू आर्थिक वर्षको लागि विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य दिएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>