चितवन विशेष

भरतपुरको व्यस्त बजारमा ढल निर्माणः खै सावधानी ?

Banner

प्रमिता ढकाल

चितवन, वैशाख ५–

भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा यतिबेला धमाधम ६ लेन सडक विस्तारको काम भइरहेका छन् । गोन्द्राङ–चौविसकोठी क्षेत्रमा ढल निर्माण सकिएर सडक पीच गर्ने अवस्था नै पुगि सकेको छ भने चौविसकोठी–लायन्सचोक सडक खण्डमा ढल निर्माण काम भइरहेका छन् । तर भरतपुरको व्यस्त सडकको रुपमा चिनिने भरतपुर हाइट क्षेत्रमा अहिले ढल निर्माणको काम भइरहँदा कुनै सावधानी अपनाएको पाईएको छैन ।

भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर, वीरेन्द्र बहुमुखी क्याम्पस, ठूला होटेल तथा चितवनकै मुख्य बजार क्षेत्र भएकाले यहाँ संधै जसो सवारी चाप देखिन्छ । सडकमा सवारी चाप र ट्राफिकको अस्तव्यवस्तताले दिनहुँ जसो सवारी दुर्घटना हुने क्षेत्रकै रुपमा चिनिने वीरेन्द्रक्याम्पस चोकदेखि भरतपुर ओरालोको भाटभटेनी क्षेत्र अहिले थप जोखिमयुक्त बनेको छ । वीरेन्द्रक्याम्पस चोकमा रहेको सिजी ल्याण्डमार्क र भाटभटेनी आसपासमा भइरहेको निर्माणकार्यमा चरम लापरवाही देखिन्छ ।

डिभिजन सडक कार्यालयका अनुसार निर्माण कार्य भइरहेका क्षेत्रमा रिफ्लेक्टिङ लाइट, टेप र ठाँउ ठाँउमा बोर्ड तथा ट्राफिक कोन राखेर काम गर्नुपर्ने हुन्छ । साथै निर्माण कार्यमा संलग्न कर्मचारीहरुले सेफ्टी हेलमेट, रिफ्लेक्टर ज्याकेट अनिवार्य लगाउनुपर्ने हुन्छ । तर निर्माण कार्य सुरुभएको एक साता बितिसक्दा पनि यस क्षेत्रमा सुरक्षाका न्यूनतम आवश्यकता पालना गरेको देखिँदैन न त कर्मचारी तथा कामदारहरु नै सेफ्टी हेलमेट तथा रिफ्लेक्टर ज्याकेटमा देखिन्छन् । यसबारे सडक डिभिजन भरतपुरका सुचना अधिकारी शिव खनालसंग जिज्ञासा राख्दा सो क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको बारे आफु जानकार नै नभएको बताए । नाला निर्माणको क्रममा सोलिङका लागि ढुंगा राख्न सुरु गरिएको छ ।

पूर्व पश्चिम राजमार्गको अति नै व्यस्त क्षेत्रमा भइरहेको निर्माणकार्यले सवारी व्यवस्थापनमा समेत कठिनाई भएकाले सुरक्षा सर्तकता पालना गरिदिन पटक पटक आग्रह गरेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताए । मुख्य चोकहरुमा मास हेडलाइट जडानका लागि खनिएको खाडल र सडकमा नाला निर्माण लागि खनिएको खाडल आसपासमा रिफ्लेक्टिङ टेप तथा ट्राफिक कोन राख्न आग्रह गरेको उनले बताए । “यो क्षेत्र दुर्घटनाको अधिक जोखिम क्षेत्र हो,” ट्राफिक प्रमुख थापाले भने ,“ न्यूनतम प्रावधान पुरा गरिदिन हामीले पटकपटक आग्रह पनि गरेका छौं तर सम्बन्धित निकायले ध्यान दिएकै छैन ।”

विरेन्द्र क्याम्पस चोक देखि भाटभटेनी क्षेत्रलाई मात्र हेर्ने हो भने यहाँ केही दिन देखि असरल्ल छरिएका निर्माण सामाग्री,जथाभावी थुप्र्‍याइएका ढुंङ्गा मात्र छन् । अटोलेबल मेसिन, थेरोलाइट ,टोटल स्टेसन, रेन्जिङ रड जस्ता सामाग्री जथाभावी सडकमा राखिएका देखिन्छन् । खनेर साँघुरो बनाइएको सडकमा जथाभावि राखिएका सामान पन्छाउँदै डिँड्दा खाल्डोमै खसिन्छ की जस्तो लाग्ने गरेको सर्वसाधारणले गुनासो गरे । “पार्किङको समस्या छँदै थियो त्यसमाथी बाटो खनेर डिँड्न अस्तव्यस्त भएको छ ,”एक सर्वसाारणले आक्रोश पोख्दै भने,“ अब यो सामानहरु पनि हामीले नै जोगाइँदै हिड्नुपरेपछि हामी खाल्डोमा खसे के गर्ने । ”

केही महिना अघि मात्रै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा सडकछेउ खनिएको नालीमा खसेर एउटा भाले गैँडा मरेको घटनाले संरक्षणको क्षेत्रमा चासो दिनेहरुमाझ चर्चा बटुलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>