देश/प्रदेश
संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा

काठमाडौँ, वैशाख ३-
अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखिएको छ ।
बिहीबार अपरान्ह छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आईसीयूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।
अहिले उनमा पिसाबसम्बन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्एक्टेसिस समस्या देखिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको उपचारमा प्रा.डा. मिलेशजंग सिजापति तथा प्रा.डा. रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न छन् । चिकित्सकका अनुसार अहिले उनको अवस्था सन्तोषजनक छ ।
यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो । उपचार पश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए ।
























