Breaking News

लयमा फर्कदै चितवनको पर्यटन, नयाँ वर्षमा भरिए पर्यटकीय गन्तव्य

Banner

पूजा ढकाल

चितवन, वैशाख ३-

नयाँ वर्ष २०७९ को अवसरमा चितवनका विभिन्न पर्यटकीय गन्तव्यहरुमा पर्यटकको आगमन बढेको छ ।

जंगल सफारी, बोटिङ तथा विभिन्न जंगली जनावर हेर्न देश तथा विदेशबाट चितवन आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो ।

विशेष त पछिल्लो समय चितवन कोरोनामुक्त शहर घोषणा भएपछि सौराहा र मेघौलीमा पर्यटकको आगमन बढेको छ । सौराहा आउने पर्यटकको आगमन बढेसँगै होटल भरिभराउ भए । यस्तै सौराहा सँगै मेघौलीमा पनि पर्यटकको आगमन बढेको थियो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपकभट्टराईका अनुसार पछिल्लो समय देशका विभिन्न ठाउँ, भारत, चिन तथा अन्य देशबाट पर्यटक सौराहा आउन थालेका छन् । अहिले नयाँ वर्षमा पर्यटक आगमन बढेसँगै सौराहाका ५०÷६० प्रतिशत होटलका रुम समेत भरिभराउ भएको उनको भनाइ छ ।उनी भन्छन्, ‘पहिले लगभग १०० प्रतिशत नै होटल भरिभराउ भए पनि हाल कोरोनामाहामारी पछि छोटो अवधिमा ६० प्रतिशत होटल भरिनु भनेको धेरै हो, अब सौराहाको पर्यटन क्षेत्रमा सुधार हुँदै जान्छ । ’

अहिले सौराहामा दैनिक २०–२५ जना विदेशी तथा २–३ सय नेपाली पर्यटक आउने गरेको उनले नारायणी अनलाइनलाई बताए । त्यस्तै पछिल्लो समय मेघौली चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । उनका अनुसार मेघौलीमा पनि पहिलेको भन्दा पर्यटक आगमन संख्या बढेको छ । मेघौली भरतपुर चौबीसकोठीबाट करिब ३५ किलोमिटर भित्र पर्छ ।

निकुञ्जमा जंगल सफारी तथा बोटिङ गर्ने उत्तम समय भदौंदेखि जेठ सम्मभएको उनले बताए । त्यस्तै उनकाअनुसार पहिले बर्सेनि दुई लाख पर्यटक सौराहा आउने गर्थे । भिजिट नेपालको समयमा चार लाख पर्यटक सौराहा भित्रयाउने लक्ष्य संघले राखे पनि कोरोनाका कारण सबै कार्यक्रम तथा होटल बन्द भएको थियो । तर, भिजिट नेपाल–२०२० उद्घाटन भएपछि पनि छोटो समयमै झन्डै एक लाख ५० हजार पर्यटक नेपाल आएका थिए । त्यस्तै आम्दानीको मुख्य पेसा पर्यटन रहेको सौराहालाई अबका दिनमा धार्मिक रुपमा विकास गर्ने र स्थानीय तहको चुनाव पछि सातै प्रदेशमा ‘घुमौं चितवन’ अभियान सहित प्रचारप्रसार गर्ने उनले बताए ।

सौराहामा सञ्चालन भएको फुड फेस्बिलले गर्दा पनि यसवर्षको नयाँ वर्षमा चहलपहल बढ्यो । नारायणगढ र भरतपुर क्षेत्रका युवाहरु पनि सौराहामा नयाँ वर्ष मनाउन पुगे जसले गर्दा रेष्टुरेन्टहरु पनि निकै राम्रो चल्यो । सौराहाको होटल ग्रिन पार्कका प्रबन्धक राधाकृष्ण श्रेष्ठले नयाँ वर्षले पर्यटकको आवागमन बढ्दा होटलको अकुपेन्सी ७० प्रतिशत पुगेको बताए । उनले भने, ‘आज भोलि स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरु पनि १० प्रतिशतजति देखिएका छन् । गत वर्ष कोरोनाको कारणले होटल पूरै बन्द भएको थियो । यस वर्ष पनि रुस र युक्रेनको युद्धले पर्यटन आवगमनमा केही असर गरेको छ । तर, पनि यस वर्षको मानिसहरुको आवागमनले व्यवसायीमा उत्साह थपेको छ ।’ नेपालीहरुमा पनि घुम्ने संस्कृति फस्टाउँदै गएकोले पनि पर्यटन क्षेत्रका लागि विदेशी पर्यटक कुरेर नै बस्नुपर्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>