चितवन विशेष
भरतपुरका ५० कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा,पार्टी माओवादीकरण भएको आरोप

चितवन,वैशाख ३-
पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता कार्यकर्ताले समूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको छ। पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको उनिहरुको आरोप छ ।
गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।
सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।




























