चितवन विशेष
कांग्रेसबाट भरतपुर महानगरको उपमेयरमा युवा नेता बरालको दाबी

चितवन, वैशाख १-
भरतपुर महानगरपालिका नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा युवा नेता केदारनाथ बरालले दाबी गरेका छन् ।
२०४३ सालदेखि रामपुर क्याम्पसको नेविसंघ युनिटबाट सक्रिय राजनीतिमा प्रवेश गरेका बराल १९ वर्षको कलिलो उमेरमै नेपाली कांग्रेसको वडा सभापति भएका थिए । तत्पश्चात २१ वर्ष (२०४८ साल) उमेरमा नेपाली कांग्रेस गाउँ समितिको सचिव हुँदै २०४८–५३ सालमा साविक गुञ्जनगर गाउँसमितिको सभासद सदस्य भई विकास निर्माण र सामाजिक सेवामा समर्पित रहँदै आएका छन् ।
२०४६ सालको जन–आन्दोलन र दोस्रो जनआन्दोलन विभिन्न राजनीतिक परिवर्तनहरुमा सक्रिय भूमिका खेलेका बराल शिक्षकको रुपमा केही समय शिक्षक संघ र ट्रेड युनियनमा समेत नेतृत्वदायी भूमिका निर्वाहमा रहे । नेपाल ट्रेड युनियन महासंघको जिल्ला कार्यसमिति सदस्य (२०५७–२०६२) भई सक्रिय भूमिका खेलेका बराल शैक्षिक तथा बौद्धिक क्षेत्रमा निकै खारिएका व्यक्तित्व हुन् ।
उनले राजनीतिशास्त्र तथा अर्थशास्त्रमासमेत स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । विभिन्न सामाजिक संघसंस्था, सहकारी, जेसीस, अनाथालय, रेडक्रस जस्ता संस्थामा सेवा प्रदान गरिसकेका बराल विभिन्न विद्यालयलाई प्रचुर मात्रामा आर्थिक सहयोग गरी सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएका छन् ।
बराल यस महानगरमा पार्टीले विश्वास गरी टिकट प्रदान गरेमा सुनिश्चित विजय प्राप्त गर्ने दाबी गर्छन् । उनले आफू सफल भएमा युवाहरुको भावनाको कदर गर्दै महानगर भित्र कृषिको विकास व्यवस्थित गर्दै अत्याधुनिक शहरी विकासका मोडेलको योजना अगाडि सार्ने बताउँछन् । निज बराल नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा भरतपुर महानगरपालिकाको उपसभापति पदका उम्मेदवार समेत हुन् ।
























