चितवन विशेष

भरतपुरमा राप्रपा आमसभाको तयारी सकियो

Banner

चितवन, वैशाख १-

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि भरतपुरमा गर्ने आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

राप्रपा चितवनले गर्ने आमसभामा ५० हजार बढी जनता सहभागी गराउने दाबी गरिएको छ । भोलि (शुक्रबार) केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने आमसभामा सहभागी हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषासहित सर्वसाधरण आमसभामा सहभागी हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए ।

भोलि दिउँसो १२ बजेदेखि आमसभाको औपचारिक कार्यक्रम सुरु हुने जनाइएको छ । आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा चितवन आउँदै छन् । आमसभा स्थल पारस बसपार्कको चौरको स्वरुपनै परिवर्तन भएको छ । पाँच दिन लगाएर झाडी तथा फोहर व्यवस्थापन गरिएको छ ।

मञ्च व्यवस्थापन समितिका संयोजक तथा राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले खुला चौरबाट झण्डै २५ ट्रिपर फोहर संकलन गरी व्यवस्थापन गरिएको बताए । जेसीबी, ग्रेडर, रोलर लगाएर चौरका खाल्डाखुल्डी पुर्ने, सम्याउने काम गरिएको छ । ‘अस्तव्यस्त खुल्ला चौरलाई सफा बनाएका छौँ’, प्रवक्ता भण्डारीले भने, ‘जोकोहीले सहज रुपमा कार्यक्रम गर्न सक्ने गरी चौर सुधार गरेका छौँ ।’ राप्रपाले चौर सरसफाई गरेपछि स्थानीय निकै खुसी भएका छन् । गैडाकोटका गोर्वद्धन अधिकारी बसपार्कको चौर सफा बनेकोमा निकै खुसी लागेको बताए ।

राप्रपा चितवनका सहसचिव रामजी अधिकारीले फोहर फालेपछि बसपार्कका स्थानीयहरु निकै खुसी बनेको बताए । जेसीबी लगाएरै वर्षौँदेखि थुप्रिएको फोहर व्यवस्थापन गरिएको उनको भनाइ छ । ५०० बढी सवारीहरु सहजरुपमा पार्किङ गर्न सकिने उनले बताए । राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले डम्पिङका रुपमा रहेको खुला चौरले काँचुली फेरेको बताए ।

राप्रपाका युवा संयोजक निमा लामाले आमसभा स्थलका लागि गरिएको सरसफाइले आगामी दिनमा समेत कार्यक्रम गर्न सहज बनेको बताए । राप्रपा चितवनका सुशासन विभाग प्रमुख राजेश्वर खतिवडाले चितवनको मध्यभागमा पर्ने बसपार्कको चौर सफाइलाई सबैले प्रशंसा गरेको बताए । आमसभा स्थलमा अतिथि र कलाकारहरुका लागि दुई मञ्चहरु बनाइँदै छ । आमसभामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति समेत रहने जनाइएको छ । आदिवासी, जनजातिहरुको कला, संस्कृति प्रर्वद्धनका लागि मौलिक नृत्यहरु समेत देखाइने राप्रपा चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>