चितवन विशेष
चितवनमा निर्घात कुटपिट भएको घटनापछि पहिलोपटक ज्ञानेन्द्र शाही भोली चितवन आउँदै

प्रतिमा कुमाल,
चितवन, वैशाख १–
चितवनमा निर्घात कुटपिट गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही त्यसपछि पहिलो पटक भोली चितवन आउँदै छन् । गत वर्ष असोज ११ गते शनिबारको दिन निर्घात कुटपिट गरिएका शाही राप्रपाको आमसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।
भ्रष्टचार विरोधी अभियानमा हिडिरहेको बेला शाहीमाथि भरतपुर महानगरपालिका वडा नं. १० स्थित होटल ग्लोबल अगाडि कुटपिट भएको थियो । उनी ‘नेपालका लागि नेपाली’ अभियानका संयोजक समेत थिए । सोही अन्तर्गत भ्रष्टचार र लुटतन्त्र विरुद्ध नागरिक खबरदारी कार्यक्रममा सहभागी हुन उनी चितवन आएका थिए । शाहीलाई रड, ढुङ्गा र इँटाले कुटपिट गरिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको थियो । होटल अगाडि पार्किङ गरी राखेको ना ३ ख ८४५८ नम्बरको माइक्रोबस भित्र बसेको अवस्थामा शाहीलाई कुटपिट गरिएको थियो ।
























