Breaking News
भरतपुर महानगरको वडा ११ मा एमालेतर्फबाट वडा अध्यक्षमा कमल मल्ल सर्वसम्मत उम्मेदवार

चितवन, चैत ३०-
आगामी स्थानीय निर्वाचनमा जनसंख्याको हिसाबमा भरतपुर महानगरको सबैभन्दा ठूलो वडा ११ को वडा अध्यक्षमा कमल मल्ल एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका छन् ।
एमाले वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यको प्रस्तावमा एमालेका नेताहरु नरेश अधिकारी, शंकर अधिकारी, सूर्य पण्डित, पुस्तक गौतम र रविन्द्र बरालले समर्थन गरी उनी आज एमालेको सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
वडा अध्यक्षको उम्मेदवार भएपछि मल्लले आफूले वडाको भौतिक विकास निर्माणसँगसँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्ने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मैले वडामा दलित, महिला, अल्पसंख्यक, एकल महिला, सुकुमबासी, गरिब समुदायहरुको सामाजिक सशक्तिकरणलाई मुख्य प्राथमिकता दिने छु । जनसंख्या बढ्दै गएको वडालाई हरियाली र सुन्दर बनाउनेमा पनि मेरो ध्यान जानेछ ।’
२००७ सालमा पर्वत जिल्लाको मल्लाजमा जन्मिएका मल्लको परिवार २०१७ सालमा नै चितवन बसाइँ झरेको हो । विसं २०२८ पोखराको पृथ्वी नारायण क्याम्पसमा आईएड पढ्दादेखि कम्युनिस्ट राजनीतिमा लागेका मल्ल बीएड उतीर्ण गरेसँगै डोल्पा र हुम्लामा झण्डै तीन दशक शिक्षकको रुपमा काम गरेर २०६० सालमा सेवानिवृत्त भएसँगै चितवनको एमाले राजनीतिमा सक्रिय भएका हुन् । उनी भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मा एमालेको वडा सचिव, क्षेत्रीय कमिटी अध्यक्ष, नगर कमिटी सल्लाहकार, जिल्ला कमिटी सदस्य हुँदै अहिले वाग्मती प्रदेश कमिटी सदस्य हुन् । एमालेबाट उनी वडाका अग्रज र बौंद्धिक नेताका रुपमा मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा बीएड उतीर्ण गरेका छन् ।
एमालेका वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले मल्ल आगामी स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ विजयी हुने बताए ।

























