Breaking News
चितवनमा २५ मतदान केन्द्र ‘अति संवेदनशील’, निर्वाचन सुरक्षा योजना बनाउँदै प्रशासन

मधुसूदन दवाडी
चितवन, चैत २९-
चितवनमा आगामी निर्वाचनमा २५ वटा मतदान केन्द्र अति संवेदनशील देखिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा चितवनका सुरक्षा अधिकारीहरुको आज सम्पन्न बैठकले ती मतदान केन्द्रलाई अति संवेदनशील भन्दै परिभाषित गरेको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई तीन तहमा वर्गीकरण गर्ने प्रचलन रहेको छ । चितवनका सुरक्षा अधिकारीहरुले जिल्लाका १६१ मतदान स्थलमध्ये ४४ वटालाई सामान्य, ९२ वटा संवेदनशील र २५ वटालाई अति संवेदनशील भनेर निर्धारण गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार सुरक्षाको दृष्टिकोण, भौगोलिक दूरी, मतदान स्थलमा भएका भौतिक पूर्वाधार र निर्वाचनको दिन हुने भीडभाडका कारणले २५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको नारायणी अनलाइनलाई जानकारी दिए ।
चितवनका प्रहरी प्रमुख नरहरि अधिकारीले सुरक्षा योजना भोलि बुधबारसम्म तयार भएपछि म्यादी प्रहरी र सुरक्षा अधिकारीहरुको परिचालन हुने जानकारी दिए । चितवनका २५ सहित बागमती प्रदेशमा ३१० मतदान स्थल अति संवेदनशील सूचीमा छन् । बागमतीमा ६७१ वटा संवेदनशील र ८११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ ।
























