Breaking News
भरतपुर जस्तै पोखरा महानगरमा पनि गठबन्धनविरुद्ध कांग्रेसले दियो विद्रोहको चेतावनी

चितवन, चैत २९-
भरतपुर महानगरमा माओवादीलाई मेयर पद दिनु हुन्न भनेर कांग्रेस नेताहरुले विद्रोहको चेतावनी दिइरहँदा पोखरामा पनि कांग्रेसको अवस्था त्यस्तै देखिएको छ ।
पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने हल्ला चलेसँगै पोखराका कांग्रेसका नेताहरुले विद्रोहको चेतावनी दिएका हुन् । यस्तै चेतावनी दिँदा दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर माओवादीलाई दिने भएका छन् भने पोखराको पनि समाजवादीलाई दिने गठबन्धनमा लगभग सहमति भएको चर्चा छ ।
स्थानीय तहको चुनावमा पहिलोपटक नेकपा (एकीकृत समाजवादी) पार्टीले भाग लिए पनि गठबन्धनको आडमा भाग मात्रै नलिई महानगरमा दाबी पनि गरिरहेको छ ।
देशभरका ६ महानगरमध्ये गठबन्धनमा आबद्ध चार दल स्थानीय तह निर्वाचनमा कसरी अगाडि बढ्ने र कुन महानगर कसले लिने भन्ने विषयमा आज साँझ बैठक बस्दैछन् ।
तर, गठबन्धनभित्र अनौपचारिक रूपमा महानगर बाँडफाँट भइसकेको समाचार प्रकाशित भएका छन् । तर, औपचारिक रूपमा जानकारी आएको छैन ।
जसमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका समाजवादीले दाबी गरिरहेको छ । गठबन्धनमा सहमति भए पोखराचाहिँ समाजवादीले नै पाउनसक्ने सम्भावना छ ।
तर, कास्की कांग्रेस पोखरमा महानगरपालिका आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । गठबन्धनमा पोखर महानगरपालिका एसले पाउने सहमति भएको अनौपचारिक जानकारीका आधारमा कास्की कांग्रेसको नेतृत्वमा केन्द्रीय नेता, मन्त्री कांग्रेस नेतृत्वलाई दबाब दिन मंगलबार काठमाडौं जाँदै छन् । केही दिन पनि चितवनका कांग्रेस नेताहरु समान व्यथा लिएर काठमाडौँ गएका थिए । उनीहरुले नेताहरुले जिल्ला नेतृत्वको कुरा सुन्ने आश्वासनसमेत दिएका थिए तर कांग्रेस जिल्ला समितिको मागलाई केन्द्रले टेर्ने सम्भावना छैन ।
कास्की कांग्रेस सभापति किशोरदत्त बरालले पोखरा महानगरपालिका समाजवादीले पाए कार्यकर्तामा आएको विग्रहका कारण परिणाम उल्टो आउने भएकाले नेतृत्वलाई सजग गराउन र धर्ना दिन काठमाडौं जाने कार्यक्रम रहेको सुनाए ।
‘त्यही भएर हामी डेलिगेसनका लागि काठमाडौं जादँैछौँ, आधिकारिक त केही छैन, हामीले पनि अनौपचारिक हल्ला सुनेका हौँ’ उनले भने, ‘यसरी नेतृत्वले निर्णय गर्न हुँदैन । यसरी जाँदा जित्ने सम्भावना कम रहन्छ भन्ने हाम्रो बुझाइ हो ।’ केन्द्रीय समितिले स्थानीयस्तरमा निर्णय लाद्न खोज्दा विद्रोह र नतिजा उल्टो आउने उनको बुझाइ छ ।
‘केन्द्रीय कार्यसमितिले निर्णय गरेको खण्डमा पार्टी सभापतिको हिसाबले कार्यकर्तालाई त भनौँला । तर, कार्यकर्ताले स्वीकार्नुप¥यो । विद्रोहको पनि उत्तिकै सम्भावना छ । हामी यसबारे नेतृत्वलाई जानकारी गराउनेछौँ’, उनले भने । कांग्रेस कास्कीको विश्लेषणअनुसार कास्कीमा समाजवादीको मत तीनदेखि चार हजारको बीचमा मात्रै छ । ‘बढीमा पाँच हजार होला’, कास्की कांग्रेसका एक नेताले भने । यता कांग्रेस पोखरा महानगरपालिकामा एक्लै लडे पनि जित्ने दाबी गर्दै आएको छ । भरतपुरमा कांग्रेसबाट झण्डै दुई दर्जन बढी नेताहरु कांग्रेसबाट मेयरको आकांक्षी छन् ।
(बाह्खरीको समाचारमा आधारित)
























