Breaking News
नेपालमा भारतीय माछाको आयात बढ्दो, चितवनका व्यवसायी मारमा

पूजा ढकाल
चितवन, चैत २८-
भारतीय माछाको आयात बढ्दै जाँदा चितवनका माछा किसान मारमा परेका छन् ।
पछिल्लो समय छिमेकी मुलुक भारतबाट माछा आयात हुँदा माछाको बिक्री तथा बितरणमा कमी अएसँगै किसानहरु मारमा परेका हुन् ।
नेपाल मत्स्य व्यावसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार अहिले जिल्लामा माछा बिक्री भन्दा उत्पादन धेरै हुँदै गएको छ । उनले नारायणी अनलाइनलाई भने, ‘पछिल्लो समय चितवनबाट धेरै माछा निर्यात हुने सहर काठमाडौँ तथा पोखरामा भारतबाट माछा धेरै आयात हुँदै आएको पाइन्छ । जसले गर्दा चितवनको माछा बिक्री हुन सकेको छैन ।’
उनी भन्छन्, ‘नेपालमा उत्पादित माछा दुई दिनमै बिग्रने गर्छ तर भारतबाट ल्याएको माछा फर्मालिन हालेकौ कारण एक महिना सम्म नबिग्रने भएकोले व्यापारी भारतीय माछा बेच्न रुचाउने गर्छन् ।’ त्यस्तै गत वर्ष जिल्लामा चार हजार मेट्रिक टन माछा उत्पादन भएकोमा यस वर्ष छ हजार पाँच सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखेको अध्यक्ष सुवेदीले बताए ।
चितवनलाई माछामा आत्मनिर्भर जिल्ला भनेर गतवर्ष मंसिरमा घोषणा गरिएको र यहाँबाट ४० प्रतिशत माछा काठमाडौँ, पोखरा निर्यात हुने गरेको उनले बताए । तर, पछिल्लो समय भन्सार छली चोरी नाका तथा केमिकल (फर्मालिन) हालेको माछा जिल्लामा आयातहुँदा जिल्लाका माछा व्यवसायीलाई लागत समेत उठाउन मुस्किल परेको छ । जसको कारण किसानले प्रति केजी १८०–२२० मा बिक्री गर्न बाध्य भएको उनले बताए । उनकाअनुसार संघले पछिल्लो समय भरतबाट आयात हुने माछा रोक्न सरकारी निकाय, मन्त्रालय तथा प्रदेशमा पहल गरेको छ ।
त्यस्तै रामपुरका विज्ञ जय देव विष्टका अनुसार गर्मी सिजनमा माछा बढ्ने भएकोले पाखरीमा माछा हाल्न उत्तम महिना चैतदेखि असोजलाई लिइन्छ । यो सिजनमा हालेको माछा असोजदेखि मंसिर भित्र निकाल्न मिल्ने विज्ञले बताए । उनी भन्छन्, ‘माछा हालेपछि पोखरी सफा गर्न हुँदैन, माछाले दिनको समयमा लेउबाट अक्सिजन लिने गर्छ र पानीमा हरियो रंग कम भए किसानले पोखरीमा डीएपी, पोटास हाल्न आवस्यक पर्छ ।’ तर पोखरीमा उम्रने झारले रातको समयामा अक्सिजन लिने र सानो पोखरीमा धैरै माछा राख्दा यसले असर गर्ने भएकोले किसानले ध्यान दिनु पर्ने उनले बताए । उनकाअनुसार पछिल्लो समय चितवनको माडी क्षेत्रमा माछा उत्पादन धेरै हुने गरेको छ । यहाँका किसानले सबै जातको माछा पाल्ने गरे पनि पछिल्लो समय पंगास माछा बढी पाल्ने गरेका छन् र यो माछा अरु माछाको तुलनामा छिटो बढ्ने उनको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका माछा विज्ञ डा. प्रभात न्यौपानेको अनुसार जिल्लामा दैनिकरुपमा भारतबाट माछा आउने गरेको छ । उक्त माछा जिल्ला र जिल्ला बाहिरका मुख्य सहरमा लाग्ने हाट बजार, पार्टी प्यालेस, होटलमा बिक्री तथा बितरण हुने गरेको उनले बताए । त्यस्तै भारतबाट सडेको तथा फर्मालिन हालेको माछा आउदा यसले मानव स्वास्थ्यमा ठूलो असर गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘ ११ सय हेक्टर क्षेत्रफलमा जिल्लामा पोखरी छन् । जहाँ पहिले भरतपुर महानगरपालिकामा माछा उत्पादन बढी हुने गरे पनि हाल माडी क्षेत्र तथा पूर्व चितवनमा उत्पादन बढी हुने गरेको छ ।’
विसं २०३८ सालदेखि जिल्लामा माछापालन सुरुगरिएको भए पनि विसं २०६७ देखि व्यावसायिकरुपमा माछापालन सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शंकर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ ।
























