देश/प्रदेश

नेपालका तथ्यांक वैज्ञानिक बरुण पौडेलको समूहलाई अमेरिकामा अवार्ड

Banner

चितवन,चैत २७-

नेपाली डेटा साइन्टिस्ट (तथ्यांक वैज्ञानिक) बरुण पौडेलसहित भर्जिनिया टेक विश्वविद्यालय अमेरिकाको समूहले प्लास्टिकजन्य प्रदूषण र ठोस फोहोर न्यूनीकरणसम्बन्धी अनुसन्धानका लागि ‘गभर्नर्स इन्भाइरोन्मेन्टल एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ ।

भर्जिनिया राज्यमा आयोजित इन्भाइरोन्मेन्ट भर्जिनिया सिम्पोजियममा पौडेलको टिमलाई अवार्ड प्रदान गरिएको हो । वातावरण तथा संरक्षणका विभिन्न चार क्षेत्रमा नेतृत्वदायी कार्य गरेका समूहलाई उक्त राज्यको यो प्रतिष्ठित अवार्ड प्रदान गरिन्छ । भर्जिनिया टेकको प्लास्टिकजन्य प्रदूषण र ठोस फोहोर न्यूनीकरणसम्बन्धी क्याम्पसको कार्य समूहले यो अवार्ड हात पारेको हो ।

विश्वविद्यालयकी खरिद निर्देशक म्यारी हेल्मिक प्रमुख रहेको उक्त अनुसन्धान समूहमा भर्जिनिया टेकका १८ जना विज्ञ संलग्न थिए, जहाँ पौडेल एक्लो नेपाली हुन् । उनले आफ्नो समूहमा तथ्यांक विश्लेषणको नेतृत्व गरेका थिए ।

‘भर्जिनिया राज्यको प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएका छौं, यो हाम्रो समूहले प्राप्त गरेको हो,’ ३० वर्षीय पौडेलले भने, ‘यो अवार्डको सम्मानमा भर्जिनिया टेकले आगामी जुलाईमा सम्मान कार्यक्रम गर्दै छ ।’ सन् २०१८ मा अमेरिका पुगेपछि भर्जिनिया टेकमा डेटा साइन्समा स्नातकोत्तर गरेका उनले थपे, ‘व्यक्तिगत रूपमा मेरो लागि यो ठूलो उपलब्धि हो । यसले राम्रो काम गर्न थप प्रोत्साहन मिलेको छ ।’ उनी स्नातकोत्तर गरेदेखि नै भर्जिनिया टेकमा तथ्यांक वैज्ञानिकका रूपमा कार्यरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>