Breaking News
महंगीको मारमा चितवनका सर्वसाधारण, विद्यार्थी भन्छन्ः अध्ययननै छोड्ने स्थिति आयो

प्रतिमा कुमाल
चितवन, चैत २६–
इन्धनलगायत खाद्यान्नको मूल्य वृद्धिले चितवनमा सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।
निम्न आय भएका नागरिक, मजदूर र पढ्नलाई कोठा गरेर बस्ने विद्यार्थी सबैभन्दा धेरै महंगीको मारमा परेका हुन् ।
खाना पकाउने ग्यासको मूल्य बढेर १६ सय पुगेको छ । ग्यासको मूल्य आकाशिँदा उच्च शिक्षाका लागि कोठा भाडामा बस्ने विद्यार्थीमा आर्थिक भार परेको छ । कामसँगै पढाईलाई अगाडि बढाएका विद्यार्थीलाई इन्धनको मूल्य बढ्दा महिना भरीको खर्च धान्न पनि गाहे हुने गरेको छ ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय बीबीएस प्रथम वर्ष अध्ययनरत कुशल ढकालको समस्यामा पनि कुनै फरक छैन । गुल्मीबाट यहाँ पढ्न आएका उनले आफूलगायत देशको विभिन्न भूभागबाट बाहिरी जिल्लामा आएर अध्ययन गर्ने विद्यार्थी मूल्य वृद्धिले मारमा परेको जीकिर गरे ।
उनले भने, ‘पारिवारिक र आर्थिक कारण आफ्नो गृह जिल्ला छोडेर काम गर्दै पढ्दै छम् । कोठा भाडा महंगो हुदै गएको छ । खाद्यान्न पनि त्यस्तै छ । खान बस्न नै समस्या भए कसरी धान्ने । अध्ययननै छोड्ने स्थिति निम्तिएको छ ।’
आयल निगमले दिने विभिन्न भत्ताहरु कटौती गरेर मूल्य समायोजन गरे विद्यार्थीको समस्या केही हदसम्म कम हुने ढकालको भनाइ छ । यस्तै वीरेन्द्र बहुमुखी क्याम्पस मानविकी संकाय तेस्रो वर्ष अध्ययनरत भरतपुर महानगरपालिका–२८ की पुजन कुमालले वस्तुको मूल्य वृद्धि गर्दा सरकारले सर्वसाधारण जनताले कति पारिश्रमिक पाउँछन् खोजी गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले भनिन्, ‘म फेन्सीमा काम गर्छु । महिनाको १० हजार छ तलब । घर पनि पठाउनु प¥यो । साथमा बहिनी पनि छ । उसको खर्च पनि हेर्नुप¥यो । खाना, पढाई सबै यसैबाट व्यवस्थापन गर्नुप¥यो । व्यवसायीले श्रम शोषण र कालोबजारी गरेका छन् ।’ सरकारले हरेक वस्तुमा मूल्य बढाएर डाढ सेकेको कुमालको आक्रोश छ । नेपालमा आयत हुने इन्धनमध्ये सबैभन्दा धेरै खपत सरकारी कार्यालय र मन्त्रालयमा हुने भएकोले यसको खपतलाई घटाउनुपर्ने कतिपयको माग छ ।
निगमले गत मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यासकोे मूल्य बढाएको थियो । खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ भने सरकारले यातायातको भाडा बढाउने निर्णय गरेको छ । योसँगै ग्यासको मूल्य १६ सय पुगेको छ ।
यस्तै भरतपुर ११ मृगकुञ्ज टोलका स्थानीय मधुसूदन दवाडीले सबैलाई इन्डक्स चुलो (विद्युतीय चुलो) प्रयोग तर्फ प्रेरित गर्नुपर्ने बताए । दवाडीले तीन महिनादेखि विद्युतीय चुलो प्रयोग गर्दै आएका हुन् । उनले भने, ‘विद्युतीय चुलो ३५ सयमा आउँछ । महिनामा मेरो ५०० देखि ६०० बिल उठ्छ । जुन ग्यासको तुलनामा धेरै कम हो । घरमा बच्चाबच्ची भएका कारण यती उठेको हो । नत्र यो भन्दा कम खपत हुन्छ ।’
ग्यास प्रयोग गर्न भन्दा विद्युतीय चुलो सस्तो रहेको दवाडीको भनाइ छ । अहिले लोडसेडिङका कारण केही समस्या उत्पन्न भए पनि प्राधिकरणले यसको समाधान हुने भनेकाले विद्युतीय चुलो प्रभावकारी हुने दवाडीले बताए । उनले भने, ‘इन्डक्सन चुलोबाट ग्यासमा जस्तै सबै प्रकारका भाडाहरुमा पकाउन सकिने भएकोले पनि सजिलो छ । इन्धनको खपत घटाउनका लागि पनि बिजुलीको प्रयोग बढाउनुपर्छ ।’
























