चितवन विशेष
भरतपुर महानगरपालिकाले विद्यालयमा ‘शान्ति सुरक्षा’ विषय पढाउन सुरु

चितवन, चैत २४-
शान्ति सुरक्षासम्बन्धी विद्यालयस्तरको पाठ्यसामग्री भरतपुर महानगरका सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो ।
पाठयसामाग्रीका विषयमा एक दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसँगै सो पाढ्यसामग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागू भएको छ ।
समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल र सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेका छन् । त्यस्तै, रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।
सामाजमा हुने सबै प्रकारका अपराधहरु न्यूनीकरण गरी सुसभ्य समाज निर्माणका लागि विद्यार्थीलाई सचेतना दिने गरी १७ विषयसूची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागि धेरै ठूलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट विद्यार्थी माथि हुने यौनजन्य दुव्र्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठ्यसामग्री तयार गर्नु परेको अधिकारीले बताए ।
पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुमपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका विरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणी सम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्यूनीकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तव्य र जिम्मेवारी, प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यमहरु, आत्मरक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।
मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताइन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालयमा यो पाठयक्रम लागू भएको उनले बताइन् । आफूहरु आए पनि महानगरका सामुदायिक विद्यालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्थागत विद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।
सामुदायिक विधालयमा सात हजार नयाँ विद्यार्थी बढेको उनको तर्क छ । संस्थागत विद्यालयको हितमा पनि आफूहरुले काम गरेको बताउँदै दाहालले यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान विद्यार्थी उत्पादनमा धेरै ठूलो भूमिका खेल्ने र विद्यालय उमेरका विद्यार्थीलाई सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताइन् । उनले महानगरले हरेक विद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताइन् । विद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाइ थियो । महानगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् । प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साइकल वितरण, प्राविधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरीय छात्रवृत्ति कार्यक्रम लागूलगायत अरु धेरै काम गरेको उनको भनाइ थियो ।
भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताइन् । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ । यसलाई सबैले गम्भीरतापूर्वक मनन गरेर स्कुले बालबालिका लागि सही बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाइ थियो । साथै उनले धेरै चुनौतीका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताइन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफूहरुले प्रमाणित गरेर देखाएको पनी बताइन् । कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत राम बन्दु सुवेदीले सबै प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्वपूर्ण पाटो भएको बताउँदै उनले समाजले नयाँ युवालाई आशा र भरोसा दिन नसकेकोले युवाले गलत बाटो रोजेकोले सही ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भूमिका खेल्ने दाबी गरे । महानगरबाट सबै स्थानीय तहलाई यो नयाँ सन्देश भएको बताए ।
कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्यूनीकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपूर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले विद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।
सामुदायिक विद्यालयका तर्फबाट भिमनगर स्कुलका प्रधानाध्यापक कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि विद्यालयमा धेरै काम गर्न बाँकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिकालाई सही बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्वपूर्ण काम गर्ने बताउँदै उनले सामाजिक सञ्जाल र मोबाइलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । विद्यार्थीले पढाइमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाइ थियो । यो पुस्तकले अपराध गर्ने प्रवृत्ति, मनोविज्ञान घट्ने र विद्यार्थीलाई सही बाटोमा हिडाउन अपराध न्यूनीकरण सम्बन्धी सचेतना सामग्रीको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।
त्यस्तै सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम विश्वविद्यालय लेवलका विद्यार्थीका लागि पनि आवस्यक रहेकाले त्यस्ता विद्यार्थीका लागि पनि हुने गरी तयार गर्न आग्रह गरे ।
यस्तो पाठ्यक्रम विद्यालय कलेजमा लागू गरेपछि विद्यार्थीको मनोभावनामा धेरै सकारात्मक फाइदा हुने उनको तर्क छ । बिद्युतीय उपकरणले बालबालिकामा एक्लोपन विकास भएको घर परिबार दाजुभाई आमा बुबा कसैको पनि मतलब नगर्ने गरेको देखिएकोले समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई तीन हजारका दरले छात्रवृत्ति दिएको हो ।

























