चितवन विशेष
तीन दशक अगाडिको समाज बुझाउन सप्तगण्डकी बहुमुखी क्याम्पसमा वृतचित्र ‘उजेली’ को प्रदर्शन

प्रतिमा कुमाल,
चितवन, चैत २४-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको समाजशास्त्र तथा आमसञ्चार विभागले विद्यार्थीहरुलाई तीन दशक अगाडिको महिलाको अवस्थाबारे जानकारी दिन चलचित्र उजेली देखाएको छ ।
आमसञ्चार र समाजशास्त्र अध्ययनरत बीए पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई सो चलचित्र देखाइएको हो ।
चलचित्र हेरि सकेपछि महिला नै महिलाको दुस्मन भएको प्रथम वर्ष अध्ययनरत पासाङ तामाङले धारणा राखे । सानै उमेरमा बिहे गर्दा आफूले पाएको दुःख, आमा भूली छोरीलाई पनि त्यही खाडलमा धकेलेको उनको भनाइ थियो । उनले छोरा र छोरीमा पहिला एकदमै ठूलो खाडल रहेको चलचित्र हेरे पछि त्यसको ज्ञान भएको बताए ।
वर्तमान समयमा महिलाहरु हरेक क्षेत्रमा अगाडि आएको देखिरहँदा महिलाको विगतको अवस्था प्रति विश्वास गर्न सक्ने अवस्था नरहको उनले बताए । छोरीको शिक्षालाई प्राथमिकता तत्कालिन समाजमा नदिएको उनको भनाइ छ ।
यस्तै बीए पहिलो वर्षमा अध्ययनरत शिवराज कँडेलले समाजले महिलालाई एउटा वस्तुको रुपमा मात्र हेरेको प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नै परिवारबाट नै महिलाहरु माथि शोषणको सुरुवात हुदो रहेछ । बिहे गरेर श्रीमान्को घर जाने भनेपछि शिक्षामा पनि परिवारले लगानी नगर्ने रहेछन् । बिहे गरेपछि पनि महिलाको जीवन दुःख कष्ठमा नै बित्दो रहेछ । पढ्ने लेख्ने, खेल्ने उमेरमा क्षमता भन्दा बढीको काम गर्नुपर्ने र जिम्मेवारी महिलामा थुपारिँदो रहेछ ।’

समाजशास्त्र तथा आमसञ्चार विभागका सहायक प्राध्यापक दिपेन्द्र अधिकारीले विगत र वर्तमानमा महिला तथा छोरीको अवस्थाको फरक देखाउन चलचित्र उजेली देखाएको बताएका छन् ।
वृतचित्रको अनुसार त्यतिखरको समाज शिक्षा स्वास्थ्य, अवसर हरेक कुरामा छोरीलाई पन्छाउने गरेको देखिन्छ । उच्च शिक्षा हासिल गरेर छोराले बिहे गर्नुपर्छ भन्ने धारणा राख्ने आमा बुबा छोरीको भने १० नपुग्दै बिहे गर्नुपर्ने बाध्यता रहेको चलचित्रका पात्रहरुको अभिनयबाट स्पष्ट हुन्छ । पढाइ लेखाइमा छोरा भन्दा छोरी अब्बल भए पनि छोरालाईनै अभिभावकले मान्यता दिने गरेको देखिन्छ । त्यतिखेरका समाजमा रहेको विभिन्न गलत संस्कारका साथै यस चलचित्रले सानै उमेमा बिहे भएका कारण आमाको ज्यान जाने गरेको शिक्षा पनि यसले दिएको छ । यसले त्यतिखेको समाजको स्पष्ट तस्वीर झल्काउँछ । अहिले बाल विवाहको क्रम न्यूनीकरण हुदै आएको छ । तर, यसको अन्त्य भने भएको छैन ।

























