Breaking News

२८ करोड लगानीमा चितवनको राप्तीमा ड्याम निर्माण हुँदै, लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल

Banner

चितवन, चैत २३-

चितवनमा नदी कटान नियन्त्रणका लागि लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम अगाडि बढेको छ ।

पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने काम अगाडि बढेको हो ।

आर्थिक वर्ष ०७७\७८ को साउनबाट निर्माण कार्य सुरु भएको परियोजना सम्पन्न भएपछि नदी कटान समस्या समाधान हुने नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिए ।

बहुवर्षे कार्यक्रमअन्तर्गत नदी नियन्त्रणका लागि अहिले काम भइराखेको छ । लोथरदेखि सौराहाको हात्ती प्रजनन् केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइ भएको ड्याम नेपालमा नै पहिलो संरचना हुने प्रमुख थापाले बताए । डुंगाको तारजाली भएका ड्याम धेरै स्थानमा छन्, उनले भने, ‘ती ड्याम लामो समयसम्म टिक्न सक्दैन, अब यस्ता आरसीसी ड्यामले दीर्घकालीन समाधानको काम गर्छ । ’

लोथरदेखि सौराहासम्म निर्माण हुने पर्खालको उचाइ छ मिटरको हुनेछ । माथि करिब छ मिटरको चौडाइ फराकिलो सडक निर्माण हुने भएकाले वैकल्पिक राजमार्गका रूपमा रहनेछ । चितवन राष्ट्रिय निकुञ्जको नजिकबाट सौराहा लोथर सडक भएकाले छिटो यात्रा गर्न सकिने, नदी कटान समस्या समाधान हुने उनले जानकारी दिए ।

चार अर्ब २८ करोड रुपैयाँ बराबरको लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यो परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । सुरुमा एक करोड रुपियाँ विनियोजन भएको यस योजनामा हरेक वर्ष बजेट वृद्धि गर्दै लैजाने गरी बजेट सुनिश्चित भएको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए ।

पहिलो वर्ष थोरै बजेट आएकाले काम धेरै हुनसकेको छैन अब बजेट वृद्धि भएर आएपछि निर्माणले तीव्रता पाउँछ । कार्यालय प्रमुख थापाका अनुसार बहुवर्षे योजनाअनुसार सरकारले प्राथमिकताका आधारमा अब बजेट वृद्धि गर्दै लैजानेछ । ड्याम निर्माण सम्पन्न भएपछि पर्यटकीय क्षेत्र सौराहा कटान समस्या समाधान हुनेछ । पूर्वी चितवनवासीलाई सधैँ राप्ती नदी कटानको समस्याले सताउने गरेको थियो राप्ती नगरपालिकाका स्थानीय घनश्याम कँडेलले भने, ‘यो निर्माण सम्पन्न भएपछि नदी नियन्त्रण मात्र होइन, आयआर्जनको बाटोसमेत बन्नेछ । ’ ड्यामसँग सडक निर्माण हुने भएकाले त्यस क्षेत्रको आर्थिक गतिविधि वृद्धि हुने उनले बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ड्याम निर्माणले सौराहाक्षेत्रको पर्यटकीय गतिविधि लोथरसम्म जाने बताए । सौराहाका पर्यटन व्यवसायी माधव दवाडीले भने, ‘बाढी र नदीले गर्ने कटानको कारण हरेक वर्ष त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भन्ने विश्वास लागेको छ ।’ निर्माण कार्य छिटो भएमा पूर्वी चितवनवासीले राहत पाउने उनले बताए ।

(गोरखापत्र अनलाइनबाट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>