Breaking News

देशभर बर्डफ्लुको संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

Banner

चितवन,चैत २३-

चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा करीब २ महीना अवधिमा १३ ओटा जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बर्डफ्लुको संक्रमण बढेको बताए । मन्त्रालय र पशुसेवा विभागले आकलन गरेको भन्दा व्यापक रूपमा संक्रमण दर फैलिएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।

संक्रमण दर दिनप्रतिदिन बढ्दै गए पनि संक्रमण तत्काल रोक्न जनशक्ति र बजेटको अभाव रहेको उनले बताए । संक्रमण रोकथाम तथा क्षतिपूर्तिका लागि विभागसँग यस वर्ष १ करोड २१ लाख रुपैयाँ बजेट छ । तर हालको संक्रमणको अवस्था हेर्दा यसको नियन्त्रणका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

विभागका अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मोरङ, उदयपुर, सुनसरी, बारा, पर्सा र धनुषामा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । विभागले सूचना जारी गर्दै संक्रमण भेटिएका स्थानबाट अन्य स्थानमा पशुपन्छी तथा मासुको ओसारपसार नगर्न र सम्पूर्ण पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले संक्रमण ठूला फार्महरूमा व्यापक रूपमा फैलिरहेकाले थोरै जनशक्तिले काम गर्न समस्या भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>