Breaking News

बैँकमा पैसा निकाल्न गएका गैँडाकोटका युवा नारायणगढबाट बेपत्ता

Banner

मधुसूदन दवाडी

चितवन, चैत २२-

नारायणगढको एसबीआई बैँकको एटीएममा सोमबार साँझ पैसा निकाल्न गएका गैँडाकोट मिलनचोकका २३ वर्षीय राजेश अधिकारी बेपत्ता भएका छन् ।
बुबाको एटीएमबाट बैँकबाट ८० हजार रुपैयाँ निकालेपछि अधिकारी नारायणगढ बजारबाट बेपत्ता भएका हुन् । राजेशका बुबा कृष्णप्रसाद अधिकारी भारतीय सेनामा कार्यरत रहेका छन् । सधै प्राय उनी नै बैँकमा पैसा झिक्न जाने गर्दथे तर सोमबार साँझ भने घर फर्किएनन् । राजेशकी आमा हरिमाया अधिकारीले गैँडाकोट प्रहरीमा छोरा खोजिदिन उजुरी दिएकी छन् तर प्रहरीले यो समाचार तयार पार्दासम्म भेट्न सकेको छैन ।

सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत राजेश सोमबार साँझ पाँच बजेर ३० मिनेट जाँदा घरबाट पैसा निकाल्न नारायणगढ बजार हिडेका थिए । सधै झै उनले जिम जाँदा बोक्ने सानो ब्याक, घरमा लगाइरहने ट्रयाकसुट र सर्ट लगाएर गएको उनकी बहिनी अस्मिता अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिइन् । साँझ ६ बजेर १४ मिनेट जाँदा एसबीआई बैँकको एटीएमबाट ८० हजार रुपैयाँ झिकेको उनको भारतमा रहेका बुबालाई म्यासेज गयो तर पैसा झिकेपछि राजेश घर फर्किएनन् । रातिसम्म बहिनी अस्मिता र आमा हरिमाया उनको प्रतिक्षामा बसिरहे छोरा नफर्किएपछि आफन्तहरुलाई फोन गरे तर पत्ता लाग्न सकेन ।

आफन्तहरु सबै मिलेर नारायणगढ बजारतिर खोज्न पनि गए एसबीआई बैँकसँगैको होटलमा एउटा कोक खाएर जिम हल जान्छु भनेर हिडेको भन्ने त थाहा भयो तर उनी आएनन् । बहिनी अस्मिता अधिकारीले भनिन्, ‘दाई त्यसरी हिडेको अहिलेसम्म थाहा थिएन । सधै घरको काम गरेर बस्नुहुन्थ्यो । कुनै नशालु पदार्थ सेवन गरेर घरबाट जथाभावी हिडेको पनि थाहा थिएन । पहिले जस्तै नै घरको सबै काम सकेर बजार जानु भएको हो ।’ उनले अन्य दिन सधै स्कुटरमा हिड्ने मानिस त्यो दिन भने स्कुटर घरमा नै राखेर हिड्दै गएको जानकारी दिइन् । उनले भनिन्, ‘दाईको फोन अफ भएपछि भने सम्पर्क हुन सकेन । पावर हाउसको जिमहलमा बुझ्दा त्यो दिन जिम हल ७ बजेर ४५ मिनेट जाँदा बन्द भएको रहेछ । त्यसपछि कुनै सम्पर्क हुन सकेन । ’

के हुँदैछ प्रहरीको अनुसन्धान ?

गैँडाकोट प्रहरीमा उजुरी परेपछि प्रहरीले पनि प्ररम्भिक अनुसन्धान सुरु गरेको छ । सडक किनारमा राखिएको सीसीक्यामराको फुटेज हेर्दा गैँडाकोटको  मिलन चोक र शिलान्यास चोकको सीसी क्यामरामा साँझ राजेश देखिएको प्रहरीका सहायक निरीक्षक सुजन अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले खोजतलास गरिरहेका छौं । सडक छेउ र नदी किनारका अन्य सीसी क्यामराहरुको फुटेजहरुको अध्ययन गर्दै छौं । ’ अहिले उनको फोटो राखेर आफन्त र साथीहरुले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना शेयर गरिराखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>