Breaking News

भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल निर्विकल्प उम्मेदवार

०
Banner

मधुसूदन दवाडी

चितवन, चैत २१

स्थानीय तहको निर्वाचन नजिकिएसँगै भरतपुर महानगरपालिकामा विभिन्न दलबाट मेयर पदको आकांक्षी नेताहरुको संख्या बढ्दै गइरहेको छ ।

माओवादी केन्द्रबाट पनि मेयर रेनु दाहाल मेयर पदमा आकांक्षा देखाएकी छन् । माओवादी केन्द्रमा रेनु दाहालको विकल्पको बारेमा खासै छलफल भएको छैन । मेयर दाहालको पाँच वर्षे अवधिमा भरतपुर महानगर विकासमा फड्को मारेको भन्दै फेरि उनलाई नै निरन्तरता दिने पक्षमा माओवादी छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँग चितवनका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मेयर दाहालको निरन्तरताको पक्षमा सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका छन् । मेयर दाहालले भरतपुरको विकासमा उल्लेख्य भूमिका खेलेको उनीहरुको दाबी छ । विकास हेर्न भरतपुर जाऔं भन्ने सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भरतपुरको विकासको पटकपटक प्रशंसा गर्दै आएका छन् ।

सुरुमा मेयरको बारेमा खासै नसोचेकी मेयर दाहाल पनि अहिले गठबन्धनले टिकट दिए मेयर पदमा फेरि दोहोरिने सोच बनाएकी छन् । उनले नारायणी अनलाइनलाई भनिन्, ‘ भरतपुरको विकासको निरन्तरताको लागि म फेरि मेयर पदमा दोहोरिने पक्षमा छु । म पार्टीको नेता भएकोले पार्टीले दिएको निर्देशन सधै मान्नुपर्छ ।’ उनले दोहोरो कार्यकाल मेयर बन्ने अवसर पाए कयौं परियोजना र अधुरा कामहरु पूरा गर्ने आशा व्यक्त गरिन् । उनले भनिन्, ‘ यति धेरै विकास गर्न सकिन्छ भन्ने मैले कल्पनासम्म गरेको थिइन । कतिपय कामहरु कोरोनाको कारणले पनि पूरा गर्न सकिएन । सोचेका बाँकी विकासका कामहरु पूरा गर्न पनि मेयरमा दोहोरिँदा सजिलो हुन्छ ।’ उनले व्यक्तिगत फाइदाको लागि केन्द्रतिर जाँदा फाइदा हुने भए पनि आफू जनताको सेवामा नै समर्पित हुन चाहेको बताइन् । गठबन्धन भनेको नै लिने र दिने काम हो तसर्थ पार्टी र गठबन्धनले जिम्मेवारी दिए पुन भरतपुर महानगरको मेयरमा दोहोरिन तयार रहेको उनले बताइन् ।

विभिन्न घरदैलो र चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नेता ईश्वर सापकोटा ‘सुमन’ लाई पनि मेयर पदको सम्भावित उम्मेदवारको रुपमा केहीले चर्चा गरेका छन् । उनले पार्टीभित्र रेनु दाहालको विकल्पबारे खासै छलफल नभएको नारायणी अनलाइनलाई बताए । माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष सापकोटाले भने, ‘माओवादी केन्द्रबाट नेता रेनु दाहाल नै र्निविकल्प उम्मेदवार हुनुहुन्छ । उहाँको विकल्पको बारेमा खासै छलफल नै भएको छैन । भरतपुर महानगरको विकासलाई निरन्तरता दिनको लागि पनि उहाँ मेयर बन्न जरुरी छ ।’

माओवादी केन्द्र चितवनका युवा नेता तथा जिल्ला समन्वय समितिका सदस्य दिलिप पौडेलले रेनु दाहाल पार्टीको केन्द्रीय सदस्य भएकोले पनि उनको विकल्प नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘माओवादी केन्द्रबाट जुनजुन ठाउँमा नेताहरुले अघिल्लो निर्वाचनमा मेयर पद जितेका छन् उनीहरुकै निरन्तरताको पक्षमा पार्टी रहेको छ । भरतपुर महानगरमा पनि मेयरमा दाहालकै निरन्तरता दिने पार्टीको निर्णय छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>