Breaking News
भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल निर्विकल्प उम्मेदवार

मधुसूदन दवाडी
चितवन, चैत २१
स्थानीय तहको निर्वाचन नजिकिएसँगै भरतपुर महानगरपालिकामा विभिन्न दलबाट मेयर पदको आकांक्षी नेताहरुको संख्या बढ्दै गइरहेको छ ।
माओवादी केन्द्रबाट पनि मेयर रेनु दाहाल मेयर पदमा आकांक्षा देखाएकी छन् । माओवादी केन्द्रमा रेनु दाहालको विकल्पको बारेमा खासै छलफल भएको छैन । मेयर दाहालको पाँच वर्षे अवधिमा भरतपुर महानगर विकासमा फड्को मारेको भन्दै फेरि उनलाई नै निरन्तरता दिने पक्षमा माओवादी छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँग चितवनका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मेयर दाहालको निरन्तरताको पक्षमा सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका छन् । मेयर दाहालले भरतपुरको विकासमा उल्लेख्य भूमिका खेलेको उनीहरुको दाबी छ । विकास हेर्न भरतपुर जाऔं भन्ने सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भरतपुरको विकासको पटकपटक प्रशंसा गर्दै आएका छन् ।
सुरुमा मेयरको बारेमा खासै नसोचेकी मेयर दाहाल पनि अहिले गठबन्धनले टिकट दिए मेयर पदमा फेरि दोहोरिने सोच बनाएकी छन् । उनले नारायणी अनलाइनलाई भनिन्, ‘ भरतपुरको विकासको निरन्तरताको लागि म फेरि मेयर पदमा दोहोरिने पक्षमा छु । म पार्टीको नेता भएकोले पार्टीले दिएको निर्देशन सधै मान्नुपर्छ ।’ उनले दोहोरो कार्यकाल मेयर बन्ने अवसर पाए कयौं परियोजना र अधुरा कामहरु पूरा गर्ने आशा व्यक्त गरिन् । उनले भनिन्, ‘ यति धेरै विकास गर्न सकिन्छ भन्ने मैले कल्पनासम्म गरेको थिइन । कतिपय कामहरु कोरोनाको कारणले पनि पूरा गर्न सकिएन । सोचेका बाँकी विकासका कामहरु पूरा गर्न पनि मेयरमा दोहोरिँदा सजिलो हुन्छ ।’ उनले व्यक्तिगत फाइदाको लागि केन्द्रतिर जाँदा फाइदा हुने भए पनि आफू जनताको सेवामा नै समर्पित हुन चाहेको बताइन् । गठबन्धन भनेको नै लिने र दिने काम हो तसर्थ पार्टी र गठबन्धनले जिम्मेवारी दिए पुन भरतपुर महानगरको मेयरमा दोहोरिन तयार रहेको उनले बताइन् ।
विभिन्न घरदैलो र चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नेता ईश्वर सापकोटा ‘सुमन’ लाई पनि मेयर पदको सम्भावित उम्मेदवारको रुपमा केहीले चर्चा गरेका छन् । उनले पार्टीभित्र रेनु दाहालको विकल्पबारे खासै छलफल नभएको नारायणी अनलाइनलाई बताए । माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष सापकोटाले भने, ‘माओवादी केन्द्रबाट नेता रेनु दाहाल नै र्निविकल्प उम्मेदवार हुनुहुन्छ । उहाँको विकल्पको बारेमा खासै छलफल नै भएको छैन । भरतपुर महानगरको विकासलाई निरन्तरता दिनको लागि पनि उहाँ मेयर बन्न जरुरी छ ।’
माओवादी केन्द्र चितवनका युवा नेता तथा जिल्ला समन्वय समितिका सदस्य दिलिप पौडेलले रेनु दाहाल पार्टीको केन्द्रीय सदस्य भएकोले पनि उनको विकल्प नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘माओवादी केन्द्रबाट जुनजुन ठाउँमा नेताहरुले अघिल्लो निर्वाचनमा मेयर पद जितेका छन् उनीहरुकै निरन्तरताको पक्षमा पार्टी रहेको छ । भरतपुर महानगरमा पनि मेयरमा दाहालकै निरन्तरता दिने पार्टीको निर्णय छ ।’
























