Breaking News

भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसबाट आधादर्जन बढी नेताको चर्चा

Banner

मधुसूदन दवाडी

चितवन, चैत २०

स्थानीय तहको निर्वाचन नजिकिएसँगै भरतपुर महानगरको मेयरमा विभिन्न राजनीतिक दलहरुबाट मेयर पदमा को ? उम्मेदवार बन्ला भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर कांग्रेसको भरतपुरमा सञ्चालित घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको माझमा मेयर पदमा ८ जना नेताहरुको चर्चा चल्न थालेको छ । तर, सत्तारुढ दलहरुबीचको भरतपुरमा सम्भावित गठबन्धनले गर्दा कांग्रेसबाट मेयर पदका आकांक्षीहरु खुलेर अगाडि आउन सकेका छैनन् । यदि गठबन्धनमा मेयर पद कांग्रेसलाई नै पर्‍यो भने नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, सूर्यकान्त घिमिरे, शंकर कँडेल, पार्वती शाह ठकुरी र चित्रसेन अधिकारीको नाम आम कार्यकर्ताको माझमा चर्चामा छ ।

पुराना र अग्रज नेताको हैसियतमा कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङको नाम मेयरमा अग्रपंक्तिमा रहेको छ । गुरुङले विगतमा जिल्ला पञ्चायतको सभापति चलाइसकेकोले पनि उनी यो पदको लागि योग्य रहेको कार्यकर्ताको दाबी छ । कांग्रेसको हालै सम्पन्न जिल्ला अधिवेशनलाई सफल बनाउन पनि गुरुङले अभिभावकत्वको भूमिका खेलेका थिए । गुरुङले नारायणी अनलाइनलाई भने, ‘पार्टीको सिपाही हूँ । म मेयरको लागि लड्न तयार छु । अहिले भरतपुरमा गठबन्धन नै गर्ने हो भने पनि कांग्रेसको मेयरलाई माओवादीले सहयोग गर्नुपर्छ । हामी माओवादीलाई मेयर दिन तयार छैनौं ।’

त्यस्तै नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरको उम्मेदवार भएर पनि अन्तिम अवस्थामा नाम पार्टीले फिर्ता लिइदिएको दिनेश कोइरालालाई पनि कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरुले मेयरको रुपमा हेर्न चाहेका छन् । यसपटक मेयरको टिकट उनलाई दिएमा उनीप्रति अघिल्लो निर्वाचनमा पार्टीबाट गरिएको अन्यायको अन्त्य हुने धेरैको दाबी छ । उनले आफूले मेयर पदको लागि व्यक्तिगत धारणा नबनाएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘पहिलो शर्त चुनावी तालमेलमा मेयर पद कांग्रेसले पाउनुपर्छ भन्ने हो । पार्टीले मेयरको लागि तयार हुनुपर्छ भने म तयार नै छु ।’ उनले बालकुमारी कलेजबाट नेविसंघको राजनीति गर्दै पार्टीको राजनीतिमा अगाडि बढेका हुन् ।

वाग्मती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको पनि भरतपुर महानगरपालिकाको मेयरमा चर्चा चलेको छ । सभापति देउवा निकट श्रेष्ठ जिल्ला सभापतिको निर्वाचनका मुख्य थिए । राजनीतिक प्रभाव र शक्तिका आधारमा पनि उनलाई मेयरमा हेर्न चाहेको कतिपय कांग्रेसी कार्यकर्ताको भनाइ छ । सांसद श्रेष्ठले नारायणी अनलाइनलाई भने, ‘म गठबन्धनको विरोधी होइन । सहमतिको वातावरण भए म मेयरमा उठ्न सधै तयार छु ।’

यस्तै कांग्रेस चितवनको निर्वाचनमा सभापतिमा उम्मेद्वारी दिएर छुट्टै माहोल बनाएका उत्तम जोशी पनि मेयरमा दावी गरेका छन् । पार्टीमा आफूले गरेको योगदानको आधारमा मेयरमा स्वभाविक दावी रहेको उनको भनाई छ । ‘आम कार्यकर्ताको भनावना अनुसार मेयरमा स्वभाविक मेयरमा उम्मेद्वारी रहन्छ, यसपटक कांग्रेसले नै मेयर पाउनुपर्छ’–जोशीले नारायणी अनलाइनसंग भने । उनी नेपाली कांग्रेस चितवनका पूर्व सचिव हुन् ।

नेपाली कांग्रेसबाट भरतपुरको मेयरमा कृषि विश्वविद्यालयका पूर्वरजिष्टार सूर्यकान्त घिमिरेको पनि चर्चा चलेको छ । उनलाई विद्धान र भिजन भएका नेताको रुपमा लिने गरिन्छ । नेपाली कांग्रेसको प्रभावक्षेत्र मानिएको पश्चिम चितवनको रामपुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकोले पनि कांग्रेसी नेता तथा कार्यकर्ताहरुले उनलाई मेयरको उम्मेदवारको रुपमा देख्ने चाहना व्यक्त गरेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनको समयमा डा घिमिरे नेपाल विद्यार्थी संघ चितवनको नेतृत्व हाँकेका थिए । उनले नारायणी अनलाइनलाई भने, ‘नेपाली कांग्रेस ठूलो पार्टी हो । पार्टीभित्र धेरै आकांक्षी छन् तर पनि पार्टीको सिपाहीको नाताले पाएको जिम्मेवारी पूरा गर्ने छु ।’ उनले महानगरको मेयरका लागि भिजन र प्रशासनिक खुबी दुवै आवश्यकता पर्ने बताए । उनले भने, ‘अबको भरतपुरको मेयरले ५० वर्षपछि महानगरलाई कस्तो बनाउने स्पष्ट मार्गचित्र हुनुपर्छ । जसले जहाँ पनि घडेरी किनेर घर बनाउने प्रवृत्तिको अन्त्य गर्दै गुरु योजना बनाएर अगाडि बढ्नुपर्छ । भरतपुरका ग्रामीण भेगबाट मुख्य शहरी क्षेत्रमा मात्र आएर बस्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

त्यसैगरी भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महिलाको रुपमा मेयरको उम्मेदवार बन्नुपर्ने कतिपयको तर्क छ । २०७४ को निर्वाचनमा उनले मेयर रेनु दाहाल भन्दा धेरै भोट ल्याएकी निर्वाचित भएकी थिइन् । उनले नारायणी अनलाइनलाई भनिन्, ‘आफू उपमेयरको उम्मेदवार भएकोले पनि मेयर पदमा मेरो उम्मेदवारी स्वभाविक नै हो । म पार्टीले जिम्मेवारी दिए मेयर पदमा लड्न तयार छु ।’

कांग्रेस कार्यकर्ताको माझमा भरतपुर महानगरपालिका–८ का गौरीगञ्जका नेता शंकर कँडेलको नाम पनि चर्चामा छ । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनी यसअघि जिल्ला कमिटीको कोषाध्यक्ष रहेका थिए । उनले २०४६ सालदेखि भरतपुरलाई बुझ्दै आएकोले पनि जनताको सेवाको लागि महानगरको मेयरमा इच्छा राखेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘भरतपुर महानगरलाई व्यवस्थित र स्मार्ट शहर बनाउने गरी काम गर्ने रहर छ । कांग्रेसले भरतपुरमा मेयर लिएर मात्र गठबन्धन गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’ उनले जनताको सेवा गर्ने इच्छाले पनि मेयर पदमा चाहना राखेको बताए ।

भरतपुर महानगरका सभापति चित्रसेन अधिकारीको नाम पनि मेयरका लागि कांग्रेस कार्यकर्ताहरुको माझमा चर्चामा छ । पश्चिम चितवनमा प्रभावशाली बन्दै गएका अधिकारी भरतपुर महानगरपालिका २१ का वडा अध्यक्ष पनि हुन् । उनले भने, ‘ कांग्रेस राजनीतिमा २०४२ सालदेखिको अनुभव र पार्वतीपुर गाविसको वडा अध्यक्ष हुँदै महानगरको वडा अध्यक्ष भएकोले अनुभवको आधारमा पनि म मेयर चलाउन सक्छु । ’ कांग्रेस जिल्ला समितिले आज (आइतबार) मात्रै मेयर पद आफैँले राख्ने निर्णय गरेसँगै कांग्रेसबाट मेयरको उम्मेदवार को बन्छ भन्ने निश्चित हुनको लागि अझै केही दिन पर्खनुपर्ने हुन्छ । यसअघिको स्थानीय निर्वाचनमा भरतपुरमा जनमतको हिसाबले पनि कांग्रेस पहिलो नम्बरमा थियो । महानगरको मेयर पद निकै प्रभावशाली र पाँच वर्ष ढुक्कसँग काम गर्न पाइने पद भएकोले पनि यसमा धेरैको आकांक्षा बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>