Breaking News

चितवनका युवा विनोद पौडेल बने अस्ट्रेलियाको सत्तारूढ पार्टीबाट केन्द्रीय सांसदको उम्मेदवार

Banner

चितवन, चैत २०-

अस्ट्रेलियाको संघीय संसदीय निर्वाचनमा चितवनका युवा विनोद पौडेल केन्द्रीय सांसदमा निर्वाचन लड्ने भएका छन् ।

आगामी मे महिनामा हुने चुनावका लागि भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

झण्डै १५ वर्षअघि चितवनबाट अष्ट्रेलिया पुगेका उनी सन् २०१३ देखि २०१५ सम्म न्यू साउथवेल्स राज्यको संसदमा मन्त्रीस्तरीय सल्लाहकार समितिको संयोजक भएर काम गरिसकेका छन् । चितवनमा २०४१ सालमा जन्मेका पौडेलले लिटर स्टार स्कुल अहिलेको अंकुरमबाट एसएलसी उतीर्ण गरेका हुन् । अहिले उनको बुबा लक्ष्मणप्रसाद पौडेल र आमा देबु पौडेल चितवनमा छन् । उनी पब्लिक स्पिकिङको अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । उनले नारायणी अनलाइनलाई भने, ‘ नेपालीले केही गर्न सक्छन् भन्ने प्रेरणा दिनको लागि म राजनीतिमा आएको हो । ’ उनले आफ्नो लागि राजनीति रहर भन्दा पनि संयोग बनेको बताए ।

पौडेल अष्ट्रेलियाको सत्तारूढ दल लिबरल पार्टीबाट माकार्थर क्षेत्रमा सांसदको उमेदवार भएका हुन् । अस्ट्रेलियाको इतिहासमै नेपाली मुलका व्यक्तिले संघीय संसदको निर्वाचनमा सांसदको टिकट पाएको दोस्रो पटक हो । १५ वर्ष अगाडि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका पौडेल सत्तारूढ दलबाट चुनाव लड्दै यस पटक इतिहास रच्ने बताउँछन् । यसअघि पनि माकार्थरबाट संसदीय निर्वाचनमा लेबरल पार्टीकै उमेदवारले चुनाव जितेका थिए । नेपाली मुलको बाहुल्यता रहेको माकार्थरलाई आफू विजयी हुनेमा उनी ढुक्क छन् ।

यसअघि उनले लिबरल पार्टीबाटै काउन्सिलरको चुनाव लडेका थिए । विगत १० वर्षदेखि पार्टीमा आवद्ध रहेर उनी सामाजिक काममा सक्रिय रहँदै आएका छन् । उनले नेपालको राजनीतिबारे भने खासै टिप्पणी गर्न चाहेनन् ।

‘मे महिना भित्र हुने संघीय निर्वाचनमा नेपाली समाजको तर्फबाट मैले एउटा महत्वपूर्ण अवसर पाएको छु। यसलाई हामी सबै मिलेर एउटा निर्णयमा पु¥याउनुपर्छ भन्ने मेरो अनुरोध हो’, टिकटको आधिकारिक घोषणापछि आइतबार पौडेलले भने।

उनले आफूले चुनाव उठेको क्षेत्रमा आप्रवासीको बाहुल्यता रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । ‘यस क्षेत्रमा आप्रवासीको बाहुल्यता छ । म पनि आप्रवासी (नेपाली मुलको ब्यक्ति) भएकोले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुने विश्वास लिएको छु’, पौडेलले भने ।
उनले यो जित र हार विनोद पौडेलको मात्र नभइ सिंगो नेपाली समाजकोसमेत भएको स्पष्ट पारे। ‘मैले जिते भने अस्ट्रेलियाको केन्द्रीय संसदमा एउटा नेपालीको प्रतिनिधित्व हुनेछ र नेपाली समुदायको आवाज पनि बन्ने छ’, उनले भने, ‘त्यसैले पनि यस पटक हामी सबै मिलेर हातेमालो गर्दै इतिहाँस कोर्ने बाटोमा अघि बढ्न सबैलाई आब्हान गर्छु ।’

माकार्थर क्षेत्रमा लिबरल पार्टीले लगातार जितिरहेको अवस्थामा बिनोदलाई विश्वास गर्नु आफैंमा पनि नेपाली समुदायको लागि महत्वपूर्ण विषय हो। हरेक तीन वर्षमा हुने संघीय निर्वाचनका क्रममा लिबरल पार्टीले विज्ञप्ती जारी गर्दै बिनोद बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्ने एक जुझारू युवा भएकोले त्यस क्षेत्रको बलियो अर्थतन्त्र र विकासका लागि महत्वपूर्ण प्रतिनिधि भएको जीकिर गरेको छ । अहिले करिब दुई लाख नेपाली अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । जसमा ७५ हजार विद्यार्थी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>