चितवन विशेष
चितवनका विश्वकर्माले गरे सुनचाँदी सम्बन्धी विषयमा नेपालकै पहिलो पीएचडी

चितवन, चैत १९
नारायणगढको यस ज्वेलर्सका सञ्चालक तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक यमबहादुर विश्वकर्माले सुनको कारोबारसम्बन्धी विषयमा पीएचडी गरेका छन् ।
भारतको साईनाथ विश्वविद्यालयबाट ‘सुनचाँदीका ग्राहकहरुको क्रय व्यवहार’ सम्बन्धी विषयमा उनले पीएचडी गरेका हुन् । उनी विश्वविद्यालयमा २०१५ मा पीएचडीका लागि भर्ना भएका थिए । गुल्मीको रुरु बलेटक्सारमा २०२६ जन्मिएका विश्वकर्मा अहिले सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायका उपप्राध्यापक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उतीर्ण गरेपछि चितवनमा प्राध्यापन र सुनचाँदीको व्यवसायमा सक्रिय रहँदै आएका थिए ।
उनले पीएडीको उपाधि लिएपछि खुसी हुँदै नारायणी अनलाइनलाई भने, ‘ आफ्नो जीवनको एउटा महत्वपूर्ण सपना पूरा भएको छ । धेरै खुसी छु । अब हुने दीक्षान्त समारोहले अझ धेरै खुसी थप्नेछ ।’ उनले सुनचाँदी व्यवसायको बारेमा आफ्नो पीएडी नेपालकै पहिलो भएको दाबी गरे ।
























