अर्थ
गैडाकोटमा करोडौंको लगानिमा नेपालकै ठुलो शिखर खजुराव शैलीको हनुमान मन्दिर निर्माण

चितवन, १९ चैत्र ।
गैडाकोट नगरपालिका वडा नम्बर ९ स्थित थुम्सीमा करोडौँ लगानिमा नेपालकै ठुलो शिखर खजुराव शैलीको हनुमान मन्दिर निर्माण गरिएको छ । करिब तीन करोड लागतमा हनुमान मन्दिर निर्माण गरिएको हो ।
झण्डै तीन बर्षअघि शिलन्यास गरिएको मन्दिरको उद्घाटन चैत्र २७ गते गरिने भएको छ । सो मन्दिर ४८ फुट लम्बाई, ४२ फुट चौडाई र ६३ फुट उचाई रहेको हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, भूकम्पप्रतिरोधी आधुनिक शैलीमा मन्दिरको निर्माण गरिएको छ । यस मन्दिरमा भूमिगत, गर्भगृह र शिखर तह गरी तीन वटा खण्ड छन् । संकटमोचन श्रीहनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराशैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ लगाईएको छ ।
यस मन्दिरबाट धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकसित गरी समग्र गैँडाकोटकै धार्मिक महत्वलाई प्रवद्र्धन गर्न महत्वपुर्ण भूमिका खेल्ने गैडाकोट–९का वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । नेपालकै मध्येभागमा रहेको यो मन्दिरको ऐतिहासिक कालदेखि नै धार्मिक महत्व रहेको छ । यस चक्रघाटमा श्रीहरि भगवान बिष्णुले ग्राहद्धारा ग्रसित गजराजको प्रार्थनाबाट प्रसन्न भइ आफ्नो सुदर्शन चक्रको प्रयोगबाट ग्राहको शिरछेदन गरी गजेन्द्रलाई मुक्ति प्रदान गरेको धर्म ग्रन्थीहरुमा उल्लेख छ । यस ठाउँलाई २०४२सालमा फलाहारी बाबा श्री१०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्थली बनाउनु भएको थियो ।
धार्मिक महत्व बोकेको चक्रघाटमा संघिय, प्रदेश र स्थानीय सरकारले मन्दिर निर्माण गर्न सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि गैडाकोट नगरपालिकाको वडा र नगर स्तरिय बजेटबाट ३४ लाख, गण्डकी प्रदेश सरकारको २० लाख, संघिय सरकारको सांसदकोषबाट १० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै माडबाडी सेवा समिति नारायणघाटले २१ लाख, पवन कुमार अग्रवालले ४० लाख, नारायणी सामुदायीक वनले ७ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य दाताबाट एक करोड ६४ लाख रुपैयाँ सहयोग प्राप्त भएको हनुमान मन्दिर समिति चक्रघाटले जानकारी दिएको छ ।
यसैबिच श्री हनुमान मन्दिरले ज्ञान महयज्ञ गर्ने भएको छ । यही २७ गतेदेखि बैशाख तीन गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । स्नानघाट, धर्मशाला निर्माण र मन्दिर सञ्चालनका लागि महायज्ञ गर्न लागिएको आज गैडाकोटमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । पुर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चक्रघाटमा १ सय क्षमताको धर्मशाला निर्माण गर्ने मन्दिरको लक्ष्य छ । त्यस्तै स्नानघाटलाई पनि व्यवस्थित गर्ने योजना भनाईएको छ । वैदिक सनातन धर्मसंस्कृतिको संरक्षण गर्दै गैडाकोटको धार्मिक पर्यटनको अभिबृद्धि गर्ने महायज्ञको उदेश्य रहेको सापकोटाले बताउनुभयो ।
























